arrow

देउवाजीको हिजो पनि विष्लेषण ठीक थिएन आज पनि ठीक छैन 

हाम्रो चुनावी घोषणापत्र एमएको थेसिस जस्तो भयो

logo
चन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेसले बेहारेको हारलाई मैले दुई वटा तरिकाले हेरेको छु । एउटा प्राविधिक पक्ष र अर्को मनोवैज्ञानिक सामाजिक पक्ष । 

म एकपटक सुदूरपश्चिममा गएको थिएँ । त्यतिबेला एक वृद्धले भनेका थिए ‘हाम्रा बड्डाले सधै पार्टीमा हारिरहन्छन्, हाम्रा बड्डाले २२ वटा पुल पनि बनाए । तर काँग्रेसमा हारिरहन्छन् किन ? त्यसकारण अहिले काँग्रेसमा हाम्रा बड्डालाई जिताइदिन पर्यो ।’ 

त्यो अवस्थामा म भावुक भएछु । त्यो अवस्थामा मैले मेरो भविष्य पनि सोचिन र रामचन्द्रजीको अनुहार पनि भेटिन । त्यसकारण मैले अप्ठेरो ठाउँमा उभिएर आफ्ना कुरा राख्दैछु भनेर मैले सुरुवात गरेको थिएँ । 

हाम्रो पार्टी हार्नुमा दुई पक्ष छन् । 
१, प्राविधिक पक्ष–

प्राविधिक पक्षमा जाँदा उम्मेदवारको छनोट गर्दा हामीले सबैभन्दा पहिले गल्ती गर्यौं । सही मान्छेलाई सही ठाउँमा हामीले टिकट नै दिन सकेनौं । मोरङजस्तो ठाउँमा एक जना मधेशीलाई पनि टिकट दिन सकेनौं । स्याङजाजस्तो कोइरालाको वर्चश्व भएको ठाउँमा एक जना पनि कोइरालालाई टिकट दिन सकेनौं । 

र, समानुपातिकको वितरण गर्दाखेरी हरेक जिल्ला नछुटोस् भनेर हामीले वितरण गर्न सकेनौं । किनभने हामीले बकस जस्तो गरेर बाँड्यौं । हामीले धेरै महिला निकाल्यौं, धेरै जनजाति दलित निकाल्यौ, धेरै सीमान्तकृत निकाल्यौं । हामीले बकस गर्यौं । यसलाई हामीले ब्यापार जस्तो बनायौं । यसकारण हामी यहाँनेर चुक्यौं । 
सीमांकन गर्दाहेरी कसरी काँग्रेसलाई हराउन सकिन्छ भन्नेतिर लागियो । आफै सरकारमा छ । नियुक्त गर्छ । तर काँग्रेसलाई कसरी हराउन सकिन्छ भनेर सीमांकन गर्यो । 

हाम्रो रणनीति र कार्यनीति पनि भएन । हामीले बनाएको घोषणापत्र एमए पढ्दा बुझाउने थेसिस जस्तो भयो । यसलाई मिलाएर लैजान सकिएन । हामीले मुद्दाहरु पहिचान गर्न सकेनौं । कस्ता मुद्दाले बामपन्थीहरुलाई परास्त गर्न सकिन्छ भनेर लाग्नै सकेनौं । 

हामी सामाजिक संजाल र मिडियामा त प्रवेशै गर्न सकेनौं । हामी कुनै कुनै नियुक्ति गर्दा रिटायर्ड कर्मचारी, सेना, पुलिस, विश्वविद्यालयका प्राध्यापक लगायतलाई समेटेर गर्न सकेनौं । सधै काँग्रेसलाई पैसा खाएर नियुक्ति गरेको आरोप लाग्न थाल्यो । सैद्धान्तिक तरिकाले जानै सकेनौं ।

सरकार त चलाउनै सकेनौं । सीमित व्यक्ति सम्पन्न बन्नेमात्र भयो पार्टीलाई सम्पन्न बनाउने काम हामीले गर्नै सकेनौं । 

नेतृत्व समयअनुसार चल्न सकेन । नेतृत्वले समयअनुसार दृष्टिकोण राख्न सकेन । यो हामीले प्राविधिक पक्षमा उठायौं । 

२, मनोवैज्ञानिक सामाजिक पक्ष   
पौने तीन करोड जनसंख्यामध्ये ५१–५२ लाख नेपालीलाई हामीले सम्मान गर्न सकेनौं । सम्वोधन गर्न सकेनौं । उनीहरुकै आधारमा नेपाली समाज चलेको छ । उनीहरुको पहिचानलाई सम्वोधन गर्न सकेनौं । धार्मिक र भाषिक पहिचानलाई बुझ्न खोजेनौं । 

नाकाबन्दीको बेलामा हामीले लेखसमेत लेखेर त्यसको विरोध गर्न सकेनौं । लेख्नै दिइएन । हामीलाइृ मधेसीले भने यिनीहरु मोदीका पुच्छर हुन् । तीन चार जनाले ‘रअ’ बाट पैसा लिए । अनि सबै काँग्रेसले खायो भने । नेपालमा धेरै मान्छेले, धेरै पार्टीका मान्छेले रअबाट पैसा लिएर खान्छन् । जसले लेख्न दिएनन् उनैले लिए होलान् नि । यसरी तराईलाई हामीले मिलाएर लैजान सकेनौं । 

हामीले हार्नुपरेको तेस्रो कारण बाम गठबन्धन हो । टिकट विरतणमा सही मान्छे र समयमा दिन नसक्दा हामीसंग रिसाएका भोटहरु र सीमान्तकृत भोटहरु हामीले चलाउन सकेनौं । आज देशमा महिलाको भोट बढी छ । तर त्यो महिला भोटलाई हामीले टार्गेट गर्न सकेनौं । 

हामीले संविधान संशोधनका मुद्धाहरु गलत तरिकाले बोक्यौं । नागरिकताको मुद्धामा भारतीयलाई नागरिकता दिएर तिमीहरुलाई अल्पमतमा पार्न खोजिएको हो भनेर कम्युनिष्टहरुले भने । त्यसको हामीले उत्तरै दिन सकेनौं । 

भाषामा हामीले मिथिला, भोजपुरी भाषालाई विकासका लागि जोगाउने भन्यौं सम्वोधन गर्न सकेनौं । हामीले जुन भारी बोक्यौं त्यो हाम्रो भारी नै थिएन । आफूले सक्नेजति भारी बोक्ने हो । अरुका भारी बोकेका कारणले हामीलाई तराईबाट पनि जनताले बाहिर राखे । 

तसर्थ आफूले सक्ने भारी बोक्ने हो । समाजले हामीलाई राम्रो मानेन । संविधान संशोधन, महाअभियोगदेखि लिएर पुलिसका कुरासम्म अनि चुनावका बेलामा आइजी बनाउने सवालमा गृहमन्त्री हटाउनेसम्मका कुरामा हामी चुक्यौं । 

हामीले जुन पसल थाप्यौं जुन काम गर्यौं त्यो गलत थियो । तराईका क्षेत्रमा सिचाईको नमूना काम गर्यौं तर त्यही क्षेत्रमा हामी हार्यौं । स्वास्थ्यका कामहरु गर्यौं । भारतसंग लिपुलेकका निम्ति सबैभन्दा धेरै झगडा गर्यौं । 

पुराना सन्धि सम्झौताहरुका बारेमा गर्यौं । हुलाकी सडकका बारेमा गर्यौं । हामीले धेरै काम गर्यौं तर हाम्रो पसल चलेन । किनकि पसलमा बस्ने व्यक्तिहरुलाई जनताले विश्वास गरेनन् । तिनीहरुलाई योग्य ठानेनन् । तसर्थ पसल बन्द गर्नुभन्दा अब पसलमा बस्ने व्यक्तिलाई चेन्ज गर्नुपर्यो । 

महाभारतको युद्धको समाप्तितिर भीष्मपितामहले आफ्नो प्राण त्याग गर्न चाहन्थे । त्यतिबेला पाण्डव र कृष्ण भेट्न आउँछन्  र कृष्णले भन्छन् तपाईले हामीलाई ज्ञान दिनुस् अनुभव दिनुस् भन्दा भीष्मपितामहले भने देवकीनन्दन यहीं हुँदा मैले कसरी ज्ञान भन्न सक्छु ? तर अनुभव के हो भने हामी सबै हस्तिनापुरको हित संरक्षणका लागि भन्दा सिंहासनमा आँखा लगाएका कारणले महाभारतको युद्ध भयो । यत्रो ठूलो विनाश भयो । उनको त्यो अनुभव हो । 

आज पनि हामी आफ्नो सम्पन्नता खोजिरह्यौं । नातागोताको सम्पन्नता खोज्यांै । त्यसैगरी हामी हाम्रो राष्ट्रको हितका निम्ति लागेनौं, प्रजातन्त्रको संरक्षणका निम्ति लागेनौं । पार्टीको हितको निम्ति लागेनौं । सिंहदरबारमा छिर्नका लागिमात्र लाग्यौं । 

शेरबहादुरजी ! २०४० साल फागुन २० गते तपाई र म रुपन्देहीको सुरजसुरा काण्डमा संगै थियौं । तत्कालीन रुपन्देहीका पार्टी सभापति पुष्पानन्द गिरीको घरमा मण्डलेहरुले आक्रमण गरे । जहाँ यादवनाथ आलोक मारिएका थिए । रामप्रसाद चौधरीहरु मारिएका थिए । त्यो ठाउँमा टाढाबाट मान्छेहरु आइरहँदा खेरी म लाठीको मुठा लिएर म पुष्पानन्द गिरीको घरको छतमा जाँदा तपाईले मलाई भन्नुभयो कम्युनिष्ट बन्ने मान्छे कसरी काँग्रेस बनेछ । त्यसको दुई मिनेटमा नै उनीहरुले इट्टा ल्याएर तपाईको ओंठमा हान्दा तपाई रगताम्य हुनुभयो । र तपाईले मलाई भन्नुभयो जाउ गिरिजाबाबुलाई सोध अब के गर्ने भनेर । म हिजो पनि सही थिएँ र म आज पनि सही छु । तपाईको विष्लेषण हिजो पनि गलत थियो र आज पनि गलत छ । 

एउटा गणितको शिक्षकले आफ्नो विद्यार्थीलाई दुईटा दुईटा चकलेट दिन्छ र सोध्छ तिमीसंग कतिवटा चकलेट भयो ? विद्यार्थीले जवाफमा ५ भन्छ । शिक्षक चकित । विद्यार्थी त चलाख नै छ । तर कसरी यस्तो भयो ? फेरि शिक्षकले दुईवटा दुई वटा मोटरसाइकल देखाउँछ र कति भए भनेर सोध्छ तब विद्यार्थीले ४ भन्छ । 

यो के हो भनेर शिक्षक अचम्ममा पर्छ र विद्यार्थीलाई सोध्छ चकलेट कसरी पाँच भयो ? तब विद्यार्थीले भन्छ मैले एउटा पहिल्यै लुकाएको थिएँ । अर्थात् एउटा नेताले त्यसभित्रको रहस्य बुझ्नु पर्छ । लुकेको कुरा ‘हिडन’ के हो बुझ्नुपर्छ । 

जनता, कार्यकर्ता, राष्ट्र, संस्कृति, धर्म सबैको हिडन कुरा के हो भनेर नेताले बुझ्नु पर्छ । बुझ्न नसक्नेले नेतृत्व पनि गर्न सक्दैनन् । जनताको आसय बुझ्नुपर्छ । देशको गौरव बुझ्नुपर्छ । तबमात्र नेता भइन्छ । 
(काँग्रेस केन्द्रीय सदस्य भण्डारीले पार्टी केन्द्रीय समितिको बैठकमा सोमबार राखेका कुराहरु यो लेखमा समेटिएको छ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ