arrow

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रधानमन्त्री ओली

'कोही–कोही भन्छन् तानाशाहीको लक्षण देखिन थाल्यो’

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
KP-oli-naya-news.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।”

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे। उनले भने, “कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो नउड्ने हुन्छन्। छिट्टै मेलम्चीको पानी आउँदैछ। आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ। काठमाडौँमा मेट्रो रेल बन्छ। कतिपय त्यत्तिकै आत्तिएका छन्। यस्ता कुतर्कको पछि नलाग्न सबैमा अग्रह गर्छु।”

‘काठमाडौँ–निजगढ’ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढाइने पनि उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पुर्‍याएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने – “मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुन्। उनको योगदानलाई राष्ट्रले भुल्न हुँदैन।”

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा राखे। जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उनले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम छ भने।

महान्यायाधिवक्ता अग्नि खरेलले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको सुन्दर पार्कले सहरी सुन्दरता कायम गर्न तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सरकार र निजी क्षेत्रको साझेदारितामा निर्माण भएको यो पार्कले शहरको सौन्दर्य बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए।

सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पार्कको साँचो हस्तान्तरण गरे भने उक्त साँचोलाई शाक्यले बाटिकाका कोषाध्यक्ष सुमित्रा कडरिया खरेललाई हस्तान्तरण गरे।

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो। पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक तथा आकर्षक रुख बिरुवासहितका बगैँचा रहेको छ। उक्त पार्कको रु तीन करोड २२ लाखको लागतमा बनाइएको हो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ