बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले पचाउँछ : रक्षामन्त्री पोखरेल
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
911
Shares
काठमाडौं। रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे। मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए।
“हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ। यही आधारमा एकतामा जानुपर्छ। एकताबाट भागेर कहाँ जाने ?” उनले भने, “बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ।”
विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै उनले भने – सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ। जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन। सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उनले स्पष्ट पारे।
मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि उनले गरे। संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ। रासस