ट्रम्प र किमलाई वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने थाइल्याण्डको इच्छा
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
563
Shares
बैंकक। थाइल्याण्डले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनलाई दुई पक्षीय वार्ताका लागि आफ्नो देशले आतिथ्य गर्ने इच्छा व्यक्त गरेको छ। आफ्नो देशले उनीहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न तयार रहेको थाइल्याण्डले मङ्गलबार जनाएको छ।
थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले पत्रकारसँग भने, “त्यो वार्ताका लागि आवश्यक सम्पूर्ण व्यवस्था गर्न थाइल्याण्ड तयार छ।” अमेरिकी दूतावासले भने अहिलेसम्म यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन। उत्तर कोरियाका नेता किमले आउदो शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्ने तयारी भइरहेको छ। त्यो शिखर वार्तापछि ट्रम्पसँगको शिखर वार्ताका बारेमा केही निर्णय हुनसक्ने बताइएको छ।
राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताएका थिए। वार्ता उपलब्धिमुलक नहुने देखिएमै बीचमै छाड्ने बताउदै उनले वार्तालाई उपलब्धिमुलक बनाउन सर्तहरु पनि राखेका थिए। तर उनले कुन ठाउँमा कुन दिन हुने भन्ने बारेमा भने केही बताएका थिएनन्।
थाइल्याण्ड अमेरिकाको ऐतिहासिक कुटनीतिक सम्वन्ध भएको मुलुक हो भने उत्तर कोरियासँग पनि कुटनीतिक सम्वन्ध रहेको छ। रासस-एएफपी