arrow

स्वर्गीय ठकुरी काँग्रेसका सच्चा सिपाई : सभापति देउवा 

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
thukuri-congress.jpg

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता स्वर्गिय चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाई भएको बताएका छन्। चक्रबहादुर ठकुरी फाउण्डेशनले ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधवार राजधानीमा गरेको कार्यक्रममा उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताए। “पूर्व क्षेत्रको पार्टी संगठन निर्माणमा स्वर्गीय ठकूरीको महत्वपूर्ण योगदान रहेको छ,”– उनले भने।

ठकुरीले देखेको सपना पुरा गरेमात्र उनीप्रति सच्चा श्रद्धान्जली हुने देउवाको भनाइ थियो। पूर्व प्रधानमन्त्री देउवाले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। फाउण्डेशनले गर्ने सामाजिक कामलाई सहयोग गर्न आफू सधैं तयार रहेको उनले बताए। काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनप्रीय नेता स्वर्गीय ठकुरीले पुर्याएको योगदान अतुलनीय रहेको बताइन्। “राम्रो मान्छेलाई जिवित अवस्थार्म सम्मान गर्नुपर्छ,”– उनले भनिन्। नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले ठकुरीसँग विपक्षी दलका व्यक्तिलाई समावेश गरेर अगाडि बढ्ने क्षमता भएको बताए।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसले ठकुरीको अभाव सधै खड्कने बताए। ठकुरीका सुपुत्र विमलले बुबाको सपनालाई पूरा गर्ने बताए। ठकुरीका अभिन्न मित्र तथा समाजसेवी दीपककुमार भण्डारीले ठकुरी सबैको मनमस्तिष्कमा बस्न सफल नेता भएको स्मरण गरे।

फाउण्डेशनका अध्यक्ष गजेन्द्रकुमार लामाले ठकुरीको नाममा सामाजिक काम गर्ने लक्ष्य सहित फाउण्डेशन स्थापना गरिएको बताए। फाउण्डेशनका सचिव कृष्णजी खड्का, सदस्य गीता सिंखडा लगायतले ठकुरीको योगदानको चर्चा गरे। कार्यक्रममा फाउण्डेशनले ठकुरीको स्मृतिमा निकालेको स्मारिका चक्रबहादुर ठकुरीको स्मृतिमाको पूर्व प्रधानमन्त्री देउवाले विमोचन गरे। साथै देउवाले ठकुरीकै सम्झनामा भएको ब्याडमिन्टन प्रतियोगिताको विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।  ठकुरीको २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पमा रसुवा जिल्लाको केरुङ नाका नजिक निधन भएको थियो। ठकुरी विसं २०६४ मा काठमाडौँ क्षेत्र नं ३ बाट काँग्रेसको तर्फबाट निर्वाचित सांसद थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ