arrow

अब दिल्ली र बेईजिङ्मा पनि त्रि–देशीय साझेदारीबारे छलफल सुरु : डा. भट्टराई

‘मोदीको नेपाल भ्रमणमा अरुण तेस्रोको शिल्यान्यास हुन्छ’

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
Nepal-India-china-flag1.jpg

काठमाडौं। नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाडौंमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताएका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको विशेष साक्षात्कारमा नेता भट्टराईले यस्तो बताएका हुन्। 

उनले भने,‘नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारी हुनुपर्छ भनेर अब नेपालको राजधानी काठमाडौंमा मात्रै नभएर दिल्ली र बेईजीङमा पनि छलफल हुने भएको छ, भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदैहुनुहुन्छ, चीनमा रहँदा मोदी र चीनीयाँ राष्ट्रपति सि जिनपिङबीच नेपालको बारेमापनि चर्चा हुन्छ।’

भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण आकस्मिक रुपमा तय भएको उल्लेख गर्दै उनले भने,‘मोदीजीको चीन भ्रमण ७-८ दिनको छोटो समयमा एक्कासी तय भएको हो, मोदीजी एक किसिमले भन्ने हो भने नाटकीय किसिममा चीन जाँदैहुनुहुन्छ, हुन त यसअघि उहाँ आउने जुनमा चीन जाने तयारी भएको थियो, तर आफ्नो राष्ट्रलाई हितमा राखेर उहाँ एक्कासी चीन जाँदैहुनुहुन्छ।’

साक्षात्कारमा बोल्दै उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र साँस्कृतिक नभएर राजकीय भ्रमण हुने स्पष्ट पारे। उनले थपे,‘उहाँ प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ, नेपाल–भारतबीच रहेका सबै खाले अविश्वास अब पूर्ण रुपमा हट्ने मैले विश्वास लिएको छु, यसअघि हाम्रो प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा द्धिपक्षीय सम्बन्धमा देखिएका अविश्वास हटेका छन्, अब मोदीजी आउँदा अविश्वास पूर्ण रुपमा हट्छ।’

नेपाल र भारतबीच यसअघि थुप्रै सन्धि तथा सम्झौता भएको उल्लेख गर्दै उनले अब ती सम्झौताहरु कार्यान्वयनको चरणमा अघि बढाउनुपर्नेमा जोड दिए। भट्टराईले भने,‘दुई देशबीच भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्छ, सानातिना कुराहरुमापनि हामीले ध्यान दिनुपर्छ, बाढी आउँदा स्थापना गरिएका विराटनगरमा स्थापना गरिएको कार्यालय हटाउन भारतीय पक्षले ढिलाई गरिरहेको छ, यस्ता कुरामापनि ध्यान जानुपर्छ।’ 

त्यस्तै ग्याँस बुलेटहरु नेपाल ल्याउन नदिईएको उनको गुनासो थियो । उनले भने,‘यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ, त्यस्तै नेपालमा एउटामात्रै एयर रुट छ, हामी हवाई क्षेत्रमा सेवा विस्तार गरिरहेका छौं, हामीलाई अझै दुईदेखि तीन वटा हवाई रुट चाहिएको छ, भारतले अनुमति दिनुपर्छ, सन् २०१४ मा नै भएको विद्युत व्यापार सम्झौता (पिटीए) भएको छ, त्यसमा पनि ध्यान दिनुपर्छ।’ हुलाकी राजमार्गदेखि अन्य महत्वपूर्ण सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । 

भट्टराईले यी कुराहरुमा राजनीतिक तहमा कुनै समस्या नभएपनि कार्यान्वयन गर्ने स्थानमा रहेका व्यूरोक्र्याटिक लेभलमा पनि यसलाई गम्भिर रुपमा अघि बढाउनेगरि छलफल गर्नुपर्ने सुझाए । त्यस्तै उनले नेपाल–भारतबीच रहेका असमान सन्धि तथा सम्झौतालाई समयसापेक्ष बनाउनेबारे द्धिपक्षीय रुपमा उच्च तहमा छलफल भैरहेकोले सोही छलफललाई सहयोग पुग्नेगरि प्रवुद्ध व्यक्ति समूहले काम गरिरहेको जनाए ।

नेपालको विदेश नीतिमा नयाँ आयाम सुरु भएको भट्टराईको विश्वास छ । उनले भने,‘बदलिँदो विश्व परिस्थिति अनुसार नेपालले पनि आफूलाई कसरी अगाडि बढाउने भन्नेबारे लागिपरेको छ, अहिलेको कुटनीति परम्परागत कुटनीतिभन्दा पृथक छ, बदलिँदो र गतिशिल विश्वसामू नेपालले आफ्नो देशको हितलाई केन्द्रमा राखेर आफ्ना गतिविधिहरु चाल्छ, हामी अहिले कुटनीतिको नयाँ चरणमा छौं।’ 

नेता भट्टराईले नेपालमा राजनीतिक अस्थिरता अन्त्य भएको, संक्रमणकालिन अवस्था समापन भएकोले अहिले सहज वातावरण रहेको स्पष्ट पारे । उनले भने,‘हामीले उचित सहयोग लिएर समृद्धिको बाटोमा अघि बढ्ने समय आएको छ, धेरै लामो समयपछि आएको यो अवसरलाई सही सदुपयोग गर्न सकियो भने धेरै ठूलो फड्को हान्न सकिन्छ, यदि अवसर गुम्यो भने पछाडी पर्न सकिन्छ।’

यसअघि भारत र चीनबीच नजानिँदो प्रतिष्पर्धा रहेको बताउँदै उनले भने,‘अहिले दुवै देशबीचको सम्बन्ध सुध्रिने बाटोमा गैरहेकको छ, नेपाल–चीन–भारतबीचको सहकार्यबारे अहिले भारत सकारात्मक बनेको छ, यो खुशीको कुरा हो, हामीले दुवै छिमेकीहरुसँग लाभ लिन सक्नुपर्छ।’

नेपाल यसअघि रक्षात्मक अवस्थामा रहँदै आएको भएपनि अब आफूहरु नयाँ चरणमा प्रवेश गरेको उनको भनाई थियो । ‘हाम्रो प्रधानमन्त्री ओलीजीले यही दृष्टिकोणलाई अघि सारेर हिँड्नुभएको छ, नेतृत्वले मुलुकको हितमा काम गरिरहेको छ’–उनले भने।

मोदीको नेपाल भ्रमण राजकीय भ्रमण नै हुने नेता भट्टराईले स्पष्ट पारे । उनले भने,‘उहाँको भ्रमण राजकीय हुन्छ, उहाँले यही भ्रमणको सदुपयोग गर्दै जनकपुरकोपनि भ्रमण गर्नुहुन्छ, यो उहाँको पहिलेदेखिको चाहना हो।’ त्यस्तै उनले नेपाल–भारत सिमा विवादबारे आफूहरु सम्मिलित ईपिजीले सघन रुपमा छलफल चलाईरहेको विश्वास दिलाए । 
उनले मोदीको नेपाल भ्रमणमा अरुण तेस्रोको शिल्यान्यास र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुने जनाए । ‘यसको लागि लगानी बोर्ड र उर्जा मन्त्रालयले तयारी गरिरहेको छ’–उनले भने,‘त्यसैले उहाँको भ्रमणको बेला शिल्यान्यास हुन्छ।’

यो पटकको भ्रमणमा मोदीले नेपालको संघीय संसदमा सम्बोधन गर्ने सम्भावना कम रहेको उनको भनाई थियो । उनले भने,‘उहाँले आफ्नो पहिलो भ्रमणको बेलामा नै नेपालको ऐतिहाँसिक संविधानसभालाई सम्बोधन गर्नुभएको हो, अहिले फेरि गर्नुहुन्छजस्तो मलाई लाग्दैन्, यदि आवश्यक पर्यो भने दुवै पक्षको आपसी छलफलबाट टुँगो लगाउँछौं।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् । उनले भने,‘मोदीजीको नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ, उहाँ यसपटक जनकपुर जाँदैहुनुहुन्छ, भारतीय प्रधानमन्त्री जनकपुर जाने सायद उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ, अहिलेसम्म कोहीपनि गएका छैनन्।’

मोदीलाई जनकपुरमा भव्य रुपमा नागरिक अभिनन्दन गरिने उनको विश्वास छ । उनले भने,‘हो, उहाँलाई भव्य रुपमा अभिनन्दन हुन्छ, र हुनुपनि पर्छ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध नेपाल वा भारतका प्रधानमन्त्रीले नबनाएको बताउँदै उनले थपे,‘यो ऐतिहाँसिक सम्बन्ध हो, परापुर्वकालदेखि नै सम्बन्ध स्थापित् भएको हो, आदिकालदेखि नै स्थापना भएको सम्बन्ध सुमधुर छ।’

मोदीको नेपाल भ्रमणको क्रममा औपचारिक तथा अनौपचारिक कुराहरु हुनेपनि उनले जनाए । उनले भने,‘नेपालले आफ्नो देशको हितलाई र भारतलेपनि आफ्नो देशलाई हितमा राखेर कुराकानीहरु हुन्छन्, उहाँको भ्रमणताका राम्रा कुरा हुनुपर्छ।’ मोदीलाई जनकपुरमा २ लाख मानिसहरुको उपस्थितिमा अभिनन्दन गर्ने भनिएको छ नि भनेर सोधिएको एक प्रश्नमा झाले भने,‘२ लाखभन्दा बढिपनि हुन्छ नि, अलिकति कमपनि हुनसक्छ, तर उहाँको सम्मान भव्य रुपमा हुन्छ।’ 

मोदीको नेपाल भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको उनले जनाए । झाले भने,‘उहाँ यसपाली जनकपुर र मुक्तिनाथ जाँदैहुनुहुन्छ, तराईदेखि हिमालसम्म उहाँ जाँदैहुन्छ, राजनीतिकसँगै उहाँको यसपटक धार्मिक–साँस्कृतिक भ्रमण हुन्छ।’

भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल हुने विश्वास दिलाए । मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने उनको भनाई थियो । 

मोदीले नै नेपाल र भारतबीच कायम रहेको उच्चस्तरीय भ्रमण आदानप्रदानको खडेरी समेत समाप्त पारेको सिंहले बताए । उनले भने,‘द्धिपक्षीय उच्चस्तरीय भ्रमण भैरहेका छन्, नेपाल भ्रमणको क्रममा उहाँले संसदमा सम्बोधन गर्नुभयो, त्यसले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थपेको थियो।’

मोदीको पहिलो नेपाल भ्रमणले आपसी सहयोगको ढोका समेत खोलिदिएको सिंहले स्पष्ट पारे । उनले भने,‘उहाँले संसदमा सम्बोधन गर्दा ईन्फरमेशन हाईवेज, टा«न्समिसन हाईवेज, भौतिक पूर्वाधारमा जोड दिनुभएको थियो, अब यसको विकासमा उहाँबाट कमिटमेन्ट खोज्नुपर्छ।’

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेको छोटो समयमा नै भारतीय प्रधानमन्त्री मोदी नेपाल आउन लागेको उल्लेख गर्दै सिंहले भने,‘ओलीजीको भारत भ्रमणको बेला रेलमार्ग र जलमार्गको रोडम्यापबारे छलफल भयो, आयोजना तथा परियोजनाको सुरुवात भएको छ, यो अत्यन्तै राम्रो हो।’

मोदी र ओलीबीचको ‘केमेष्ट्री एण्ड अण्डरस्ट्याण्डिङ्’ मिलेको उनको भनाई थियो । उनले भने,‘भारतलाई नेपालको र नेपाललाई भारतको सहयोगको आवश्यक छ, यही भावनालाई बुझेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नुपर्छ।’ ओली र मोदीबीचको एक्लाएक्लै भेटवार्तामा पनि महत्वपूर्ण कुराहरु भएकोले आगामी दिनमा दुई देशबीचको सम्बन्धमा आशाका किरणहरु देखिएको उनले जनाए । 

यसअघि भएका नेपाल र भारतबीचका सन्धि तथा सम्झौताहरु अब कार्यान्वयनको चरणमा लैजानुपर्ने उनले जनाए । सिंहले भने,‘पञ्चेश्वर परियोजना कोल्ड स्टोरेजजस्तै बनेको छ, हुलाकी राजमार्ग र जलविद्युतजस्ता परियोजनाहरुलाई अघि बढाउनुपर्छ, सही गर्ने मसी सुक्दै जाने काम नहोस्।’ मोदीको नेपाल भ्रमण आवश्यक भएकोले जनतालाई निराशाबाट आशातिर लैजान फलदायी हुनेमा आफू विश्वस्त रहेको सिंहले जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ