arrow

यस्तो छ शुक्रबार हुने नरिवल खसाल्ने जात्रा, नाग–नागिनको मिलन १२ वर्षमा

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
nariwal-jatra.jpg

काठमाडौं । रातो मच्छिन्द्रनाथको नरिवल खसाल्ने जात्रा आउने शुक्रबार हुने भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनमा नरिवल खसाल्ने जात्रा मनाइन्छ । रथ लगनखेलको थटिटोलमा पुगेपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । 

नरिवल खसाल्ने दिन अपरान्ह, ज्येष्ठ व्यक्ति रातो मच्छिन्द्रनाथको टुप्पोमा बसेर देशमा सुख शान्ति छाओस् भन्ने कामना गर्दै चारै दिशामा योमरी खसालेपछि अन्तिममा नरिवल खसाल्ने गरिन्छ । 

खसालिएको नरिवल फेला पार्न यो दिन थटिटोलमा ठुलो भिडभाड र तछाडमछाड हुन्छ । जसले नरिवल पाउँछ, उसले सन्तान प्राप्त गर्छ भन्ने जनविश्वास रहिआएको छ । 
परापूर्वकालमा कर्कोटक नामका नागराज समेत रातो मच्छिन्द्रनाथको जात्राका क्रममा नरिवल खसालेको जात्रा हेर्न गएको किंबदन्ति छ । 

जात्रा हेर्न जाने क्रममा नागराजले आफ्नी श्रीमतीलाई मेरो बारेमा कसैले सोधेमा थाहा छैन भन्नू भनेपनि नागिनले लगनखेलको चैत्यमा सेतो बस्त्र लाएर हेर्न गएको छ भनिदिएपछि साहुले नागलाई समातेको कथन छ । 

त्यसबेला जरिवाना र सजायका कुरा उठ्दा नागकी श्रीमतीले सत्य बोलेकोले कर्कोटक नागलाई रातो मच्छिन्द्रनाथले आफ्नो साथमा राखेको तर श्रीमानको कुरा नकारेको हुनाले १२ बर्षको एकपटक मात्रै नख्खु खोलामा नागनागिनको मिलन हुने भनी छिनोफानो गरिएको लोक कथन छ । 

त्यसै अनुसार रातो मच्छिन्द्रनाथको गलामा सधैं कर्कोटक नागराजको माला लगाएको हुन्छ भने अहिले पनि १२ बर्षे जात्रामा मात्रै नख्खु खोलामा नाग र नागिनीको मिलन गराउन रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा कायमै छ । 

थटी टोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पु¥याउने दिनको टुङ्गो लाग्छ । नरिवल खसाल्ने जात्रा सकिएको पहिलो बिहीबार ज्योतिषले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । 

विगतका बर्षमा रथजात्रा २, ३ महिनासम्म लाग्ने गरेपनि, यसपाली जेठ महिनामा मलमास परेकाले यही महिनामा सक्ने सम्भावना बढी छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ र खटमा राखेर त्यही दिन मच्छिन्द्रनाथलाई बुुङ्गमती फर्काइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ