arrow

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी, यस्तो छ केटोको दैनिक डाइट

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
gaida-keto.jpg

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए ।

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए ।

उनले सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए । गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पुर्याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । 

केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउँछन् । 

कोषका पशु चिकित्सक डा अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे ।

छिमेकी मुलुक चीनलाई दुईजोडी गैँडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ । 

एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । 

सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ