चितवन। नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैँडा भोलि (शुक्रबार) बाट नियन्त्रणमा लिन शुरु गरिने भएको छ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर खोरिया मोहन क्षेत्रबाट एक जोडी गैँडा नियन्त्रण गर्न लागिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैँडा नियन्त्रणका लागि आवश्यक प्राविधिक टोली र उपकरण साँझसम्ममा खोरिया मोहन क्षेत्रमा पुग्नेछ। उनले भने, “शुक्रबार बिहान एक भाले र एक पोथी गैँडा हामी नियन्त्रण गर्छौं।” गैँडा डार्ट गरेर ट्रकमा राखेर निकुञ्जको भित्री बाटो कसरा हुँदै सौराहा लगिने उनले बताए।
ढकालका अनुसार एकदेखि दुई वर्ष उमेरका गैँडा नियन्त्रण गरिने छ। गैँडा नियन्त्रणका लागि आसपासका पोष्टमा रहेका १० वटा हात्ती, डोजर, ट्र्याक्टर, बोलेरो जिपलगायत सामग्रीसहित जनशक्ति परिचालन गरिँदैछ।
वैशाख ७ गतेदेखि सो आसपास क्षेत्रमा गैँडा खोजी कार्य जारी रहेको थियो। निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका छ जना प्राविधिकसहितको टोलीले एक हप्ता लगाएर गैँडाको खोजी गरेको हो। ढकालका अनुसार अन्य दुईवटा गैँडामध्ये सौराहामा उद्धार गरी राखिएको एउटा भाले गैँडा र सुखीभार वा भिम्ले क्षेत्रबाट अर्काे गैँडा नियन्त्रण गरिने छ।
सौराहामा राखिएको गैँडा लैजाने नलैजाने विषयमा टुंगो नलागेकाले चिनियाँ टोलीको चाहनाअनुसार सो गैँडा वा अर्को सुखीभार क्षेत्रबाटै नियन्त्रण गरेर लगिने ढकालले बताए। नियन्त्रणमा लिइएका गैँडालाई सौराहामा निर्माण गरिएको पिट बुमा (गैँडा राख्न निर्माण गरिएको खोर) मा राखिने छ। केही दिन बुमा भित्रको खाल्डोमा राखेर सहज खाना खान थालेपछि बुमामा केही महिना राख्ने तयारी गरिएको छ। सो पश्चात् जहाजमा राखेर गैँडा चीन पठाइँदै छ।
ती गैँडालाई जंगलीबाट घरपालुवाको जस्तो बानी व्यहोरा बनाएर मात्र पठाइने उनले बताए। जहाजमा लैजाँदा समस्या हुन सक्ने भएकाले शुरुमा बुमामा राखेर गैँडाको आनिबानी अध्ययन गरी गैँडालाई सामान्य अवस्थामा ल्याएर मात्रै पठाउन लागिएको हो।
विसं २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नु भएको थियो। सोपश्चात नेपाली विज्ञको टोलीले गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो। चीनमा प्राकृतिक बासस्थानमा एक सिंगे गैँडा छैन। रासस