arrow

महिला हिंसाका मुद्दा फछ्र्योट गर्न मेलमिलापलाई थप प्रभावकारी तुल्याइने 

logo
प्रकाशित २०७५ वैशाख १४ शुक्रबार
mahila-aayog.jpg

काठमाडौँ । राष्ट्रिय महिला आयोगले घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई थप प्रभावकारी तुल्याउने भएको छ । 

त्यसका लागि आयोगले मेलमिलापमा प्रत्यक्ष संलग्न रहने अधिकारीलाई मेलमिलापका लागि अपनाउनु पर्ने विधि, प्रक्रिया र सजगताबारे आज प्रशिक्षण शुरु गरेको छ । 

आठदिने उक्त प्रशिक्षणमा सरकारी र गैरसरकारी गरी २७ जना अधिकृतको सहभागिता रहेको छ । प्रशिक्षणका क्रममा द्वन्द्व, विवादको अवधारणा र विकास, विवाद समाधानका परम्परागत तरिका, मेलमिलापसम्बन्धी कानूनी व्यवस्था, मेलमिलापको महत्व, मेलमिलापमा वार्ताको सीप, मेलमिलाप कर्ताले अपनाउनु पर्ने पूर्वतयारीकाबारेमा प्रशिक्षण दिइने आयोगका कार्यक्रम संयोजक पलिता थापाले जानकारी दिइन् । 

आयोगले आएका उजुरीमा मिल्ने सम्भावना कति रहन्छ, मेलमिलाप गर्ने बिन्दु के हो भन्नेबारेमा दुवै पक्षलाई मनोसामाजिक परामर्श, कानूनी सहायता र बालबच्चाको हेरविचारमा होस पुर्याउनु पर्ने जस्ता कुरामा आयोगले सहयोग पुर्याउँदै आएको छ । 

उक्त प्रशिक्षणको उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले उद्घाटन गर्दै महिला हिंसासँग जोडिएर आएका उजुरीलाई अदालतले प्राथमिकता दिने गरेको बताए ।

आयोगको लैंगिक हिंसा रोकथाम तथा सम्बोधनका लागि एकीकृत परियोजनामार्फत सञ्चालित उक्त तालीममा मेलमिलापमा सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधानका बारेमा समेत प्रशिक्षण हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ