arrow

भारत र चीनमा ‘ए–वान’ डिप्लोम्याट पठाउनुपर्छ : परराष्ट्रविद् आचार्य

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
82.jpg

काठमाडौं। चीनका लागि पूर्व राजदुत एवम् परराष्ट्रविद् राजेश्वर आचार्यले वर्तमान सरकारले समृद्धि र सुशासन हाँसिल गर्नेगरि काम गरिरहेको बताए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले नेपालको अर्थ नीति निर्यातमुखी हुनुपर्ने बताए ।

नेपाल सार्वभौम राष्ट्र भएकोले सोही अनुसार देशको आर्थिक योजनाहरु हुनुपर्ने बताउँदै आचार्यले भने,‘नेपालको सार्वभौमिकता अनुसार नै देशका आर्थिक योजनाहरु बनाउनुपर्छ, त्यस्तै ग्लोबल ईन्टरडिपेन्डेसीको परिधिभित्रै रहेर आर्थिक क्रियाकलापहरु बनाउनुपर्छ।’

सन् २००१ म चीनीयाँ प्रधानमन्त्री नेपाल आउँदा नेपाललाई दश लाख डलर दिन्छौं भनेर लिष्ट माँग्दा नेपालले लिष्ट दिन नसकेको दयनीय अवस्था स्मरण गर्दै आचार्यले भने,‘उनीहरुले हामीलाई सहयोग गर्छौं, तर लिष्ट माँग्दा हामीले दिन सकेनौं, त्यसैले हामीले हाम्रा प्राथमिकताहरुपनि निर्धारण गर्नुपर्छ।’

नेपालले आफ्ना अर्थतन्त्रका आधारहरुलाई बढाउनुपर्ने पनि आचार्यले जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले सफल भारत भ्रमण गरेको उल्लेख गर्दै उनले भने,‘प्रधानमन्त्री ओलीजीले सफल भारत भ्रमण गर्नुभयो, अब १०-१२ दिनभित्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउँदैहुनुहुन्छ, फाईदा लिनको लागि नेपालले कति होमवर्क गरेको छ ? त्यो त हेर्न बाँकी नै छ।’
सरकारको सुरुवातीकरण अत्यन्तै सराहनीय रहेको आचार्यको विश्वास छ । उनले भने,‘सरकारको सुरुवातीकरण धेरै राम्रो छ, पूर्व–पश्चिम रेलमार्ग बनाउने कुरा होस्, या बीरगन्ज–काठमाडौं रेल सञ्चालन गर्ने कुरा नै किन नहोस्, यी कामहरु सम्पन्न हुन कम्तिमा १० वर्ष लाग्ला, तर हुन्छ।’ त्यस्तै उनले चीनले धेरै कुरा बोल्दै नबोल्ने तर बोलेपछि वा तीनीहरुले प्रतिबद्धता गरेरपछि त्यो परियोजना वा काम सम्पन्न गरेरै छाड्ने जनाए ।

‘चीनले धेरै ढिलो भएपनि ल्हासासम्म रेल कुदायो, तर बोलेको कुरा पूरा गरेरै छोडेको छ’ आचार्यले भने,‘रिभर डाईभर्सन प्रोजेक्ट(साउथ–टु–नर्थ) पुरयाएर छाड्यो।’ कुटनीतिमा आपसी विश्वासले धेरै अर्थ राख्ने उनको भनाई थियो ।

नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिन नहुने उनको भनाई छ । ‘नेपालले भारत र चीन दुवैको राष्ट्रिय सुरक्षालाई ध्यान दिएर नेपालको भुमी कसैको विरुद्ध प्रयोग गर्न दिनुहुँदैन्, चीन र भारतसँग नेपालले ‘ट्रष्ट गेन’ गर्नुपर्छ, हामी उनीहरुको गुड बुकमा हुनुपर्छ।’

नेपालका छिमेकीहरुसँग रहेका द्धिपक्षीय तित्तताहरु हटाउँदै जानुपर्ने आचार्यको भनाई छ । नेपालको विकासमा खास अर्थ र विशेष महत्व राख्ने चीन र भारतजस्ता देशहरुमा नेपालले ए–वन डिप्लोम्याट पठाउनुपर्ने आचार्यले सुझाए । उनले भने,‘तितो कुरालाई मिठोमा परिवर्तन गर्न सक्नुपर्छ, हो, त्यो गर्नका लागि ए वन कुटनीतिज्ञ पठाउनुपर्छ।’

नेपालले आर्थिक समृद्धि हाँसिल गर्नको लागि धेरै ठूलो फड्को हान्न जरुरी रहेकोले अहिलेको सरकारको सुरुवाती धेरै राम्रो रहेको उनको विश्वास छ ।

पूर्वअर्थमन्त्री डा. शंकर प्रसाद कोइरालाले वर्तमान सरकारको एकमात्रै उद्देश्य अब समृद्धि हाँसिल गर्नु भएकोले सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘सरकारले समृद्धि हाँसिल गर्नको लागि सरकारले अब काम गराईको गति बढाउनुपर्छ, उत्पादनको स्केल बढाउनुपर्छ र सिप तथा दक्षतालाईपनि ध्यान दिनुपर्छ ।’

कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा समृद्धि प्रदान गर्ने विश्वास दिलाएका छन् । प्रायः दलहरुबीच समृद्धि हाँसिल गर्ने कुरामा एकरुपता रहेको उनको भनाई थियो ।

उनले दलहरुका समृद्धिका एजेण्डाहरु करिब–करिब उस्तै रहेको स्पष्ट पारे । उनले भने,‘विद्युतको सवालमा अब कांग्रेसले दश वर्षमा दश हजार मेगावाट उत्पादन गर्छौं भनेको छ, एमाले–माओवादी केन्द्रले दश वर्षमा १५ हजार भनेका छन्, खाली संख्याको कुरामा मात्रै तलमाथि हो, सबैले एजेण्डा त त्यही उठाएका छन्।’

वर्तमान सरकार ५ वर्षको लागि गठन भएकोले अब स्थायित्व कायम हुने उनको भनाई थियो । उनले भने,‘कम्तिमा यो सरकारले आगामी पाँच वर्षसम्मको लागि काम गर्छ, खुट्टा टेक्ने सरकार आएको छ।’ सरकारले पहिलोपटक ‘फुल फ्लेज्ड’ संघीय बजेट ल्याउने भएकोले यसको लागि विशेष ध्यान दिनुपर्ने कोइरालाको सुझाव छ।

कोइरालाले कम्तिमा आगामी पाँच वर्षसम्मकोलागि स्थानीय तथा प्रदेश सरकारलाईपनि केन्द्रबाटै बजेट बिनियोजन गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसमा विशेष ध्यान दिनुपर्ने बताए । ‘आत्मनिर्भर बन्न समय लाग्छ, त्यसैले यो पाँच वर्षको लागि केन्द्रिय सरकारले नै स्थानीय तथा प्रदेश सभालाई बजेट व्यवस्थापन गरिदिनुपर्छ।’–उनले भने।

उनले संविधानको मर्म र भावना अनुसार नै प्राकृतिक स्रोत तथा वित्तिय आयोग तत्काल गठन गर्न सरकारलाई सुझाव दिए । सरकारले निजी क्षेत्रलाई साथमै लिएर जाने र वैदेशिक लगानी भित्र्याउने कुरा गरेकोले समृद्धि हाँसिल गर्न सजिलो हुने उनको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको भारत भ्रमणमा पनि नेपाल लगानीको लागि राम्रो देश भएकोले सरकार उदार हुने धारणा राखेको उनले जनाए ।

कोइरालाले बजेटको आकार धेरै बढाउन नहुने धारणा राखे । ‘अहिलेको बजेटको आकारभन्दा करिब १० प्रतिशत बढि जाँदा राम्रो हुन्छ’ उनले भने,‘विगतमा ह्वात्तै बजेटको आकार ठूलो बनाउँदा समस्या आएको भन्ने कुरा त वर्तमान अर्थमन्त्रीले बताउनुभएको छ।’वर्तमान सरकार आफ्ना प्राथमिकतामा कुनै अलमलमा नरहेकोपनि उनको विश्वास छ । सरकारसामू वित्तिय व्यवस्थापन र स्रोत तथा साधन बाँडफाँडमा चूनौति रहेको उनले जनाए । ‘बरु अब सरकारले समृद्धि कायम गर्नको लागि काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ, स्पिड बनाउनुपर्यो, स्केल बढाउनुपर्यो र स्किल बढाउनुपर्छ, यो तीन वटा एसमा सरकारले दिओस् भन्ने मेरो सुझाव छ।’–उनले थपे ।

तामाकोशी, बुढीगण्डकी जस्ता राष्ट्रिय गौरवका जलविद्युत आयोजनाहरु र उत्तर–दक्षिण कोरिडोर, पूर्व–पश्चिम रेलमार्ग, मध्यपश्चिम हुलाकी राजमार्ग लगायतका आयोजनाहरुलाई अब अगाडि बढाउनुपर्ने उनले बताए ।

नेपालले राजनीतिक कुटनीति गर्न नसक्ने बताउँदै उनले अब सरकारले आर्थिक कुटनीतिमा बढि जोड दिनुपर्ने सुझाए । उनले भने,‘नेपालका डिप्लोमेटिक मिसनहरुलाईपनि सोही अनुसार चलायमान बनाउनुपर्छ।’

नेपाल र भारतबीच १९९६ मा भएको व्यापार सन्धि अनुसार नेपालका सामानहरु निर्वाद रुपमा भारत निर्यात हुन पाउनुपर्ने बताउँदै कोइरालाले भने,‘तर अहिले भारतले नेपालका सामानहरु भित्र्याउने कुरामा अलिक बढि कडाई गरेको छ, यस विषयमा सरकारले कुरा गर्नुपर्छ।’
पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रमा राज्यको ढुकुटी नै रित्तियो भनेर हल्ला भएकोले जनतामा एक किसिमको आशंका पैदा भैरहेको बेलामा केन्द्रिय तथ्यांक विभागले प्रति व्यक्ति आम्दानी एक लाख प्लस हुने भनेपछि केही आशा जगाएको बताए ।

क्षेत्रीले मुलुक संघीय प्रणालीमा गएकोले केन्द्रिय बजेटको ५० प्रतिशत प्रदेश तथा स्थानीय तहमा पुग्ने बताए । उनले थपे,‘अहिले प्रदेश र स्थानीय तहमा धमाधम बजेट बनिरहेका छन्।’ यो आर्थिक वर्षमा करिब १५ खर्बको हाराहारीमा बजेट आउने उनले जनाए ।

उनले भारत र चीन दुवै मित्रराष्ट्रसँग नेपालले फाईदा लिन सक्नुपर्ने बताए । क्षेत्रीले भने,‘चीनले हाम्रा सरकार प्रमुखहरुसँगको भेटवार्तामा तपाईहरु भारतसँग सम्बन्ध सुमधुर बनाउनुहोस्, हामी खुल्ला दिलले सहयोग गर्छौ भन्ने गरेको छ।’ भारतले नेपालको विकासमा सहयोग पुर्याउने भन्दै बोलेका कुराहरु र बाचाहरु अहिलेसम्म पूरा नगरेको उनको गुनासो थियो ।

उनले थपे,‘मोदीले एक खर्ब दिन्छु भन्नुभयो, तर अहिलेसम्म एक डलर पनि आएको छैन, भारतले चाहिनेभन्दा बढि नै बोल्ने गरेको छ, तर बोलेका कुरा पूरा गरेन, यो दुःखको कुरा हो।’ नेपालले दुवै छिमेकीसँग पञ्चशीलका आधारमा सम्बन्ध कायम गर्नुपर्ने उनको सुझाव थियो ।

त्यस्तै उनले भारत र चीनबीच कसले पहिले नेपालमा रेल पुर्याउने भन्नेमा प्रतिष्पर्धा भए नेपालमा पनि राम्रो फाईदा हने धारणा राखे । उनले थपे,‘भारतको रेल बिरगन्ज हुँदै काठमाडौं आउने रेल पहिले आउने कि ? केरुङहुँदै काठमाडौं लुम्बिनी आउने चीनीयाँ रेल पहिले ? भनेर भारत र चीनबीच प्रतिष्पर्धा भयो भने त्यसले नेपाललाई फाईदा हुन्छ।’ यद्धपी उनले भारत र चीनबीच झगडा भए नेपालले बीचमा बसेर झगडा मिलाउन सक्ने हैसियत राख्नुपर्ने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले सरकारले अब ल्याउने नीति तथा कार्यक्रम रुपान्तरण शैलीमा ल्याउनुपर्ने सुझाव दिए । उनले भने,‘अब चल्तेचलातेबाट हुँदैन, रुपान्तरणसहित नीति तथा कार्यक्रम ल्याउनुपर्छ, सरकारको त्यतातिर ध्यान जाओस्।’
देशको शासन प्रणालीमा रुपान्तरण हुनुपर्ने उनको तर्क छ । उनले थपे,‘सुशासनमा आमुल रुपान्तरण हुनुपर्छ, सुशासनमा ब्रेक–थु, सर्टेन सिफ्ट गर्नुपर्छ।’ आर्थिक संरचना अनुसार कृषिलाई आधुनिकिकरण, पूर्वाधारमा गुणस्तरीयता कायम गर्नु र सबै क्षेत्रमा रहेका असन्तुलन हटाउनुपर्नेमा उनको जोड थियो ।
अहिलेको अर्थ नीतिले काम नलाग्ने उनको दाबी थियो । उनले भने,‘अहिलेको अर्थ नीीतले काम लाग्दैन्, यसको लागि रुपान्तरण जरुरी छ।’ नेपालको वित्त नीतिलाईपनि ठोस रुपमा सच्याउनुपर्ने उनको सुझाव छ । नेपालको सेक्टोरल पोलिसीमापनि रुपान्तरण चाहिएको खनालले स्पष्ट पारे ।
वित्त आयोग गठन भएको भए धेरै राम्रो हुनेथियो भन्ने उनको तर्क छ । ‘अहिले समय आएको छ, हामीले आफ्नो योजनाहरु बनाउनुपर्छ, लक्षित कार्यक्रमहरु तत्कालिन, अल्पकालिन र दिर्घकालिन गर्दै अघि बढाउनुपर्छ।’–खनालले भने।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ