arrow

सीमामा तनाव, घटनाको तीन दिन बित्दा समेत पुगेनन सरकारी अधिकारीहरु, स्थानिय आक्रोसित

सीमास्तम्भ हेर्न जान समेत रोक

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ वैशाख १५ शनिबार
boarder-anugaman-kanchanpur.jpg

बिचफाँटा,कञ्चनपुर। पश्चिम नेपालको कञ्चनपुरस्थित दक्षिणी सिमान्त पुनर्वासको बिचफाँटामा अन्तर्राष्ट्रिय मर्यादा विपररित भारतीय सुरक्षा बल एसएसबीले नेपाली भुमिमा हस्तक्षेप गरेको ३ दिन बितेको छ। घटनाको तीन दिन बित्दा पनि नेपाल सरकार र प्रशासनका उच्च प्रतिनिधि घटनाको अनुगमनमा समेत नगए पछि स्थानिय आक्रोशित बनेका छन् । 

नेपाली पक्षले वन्यजन्तुको जोखिम न्युनिकरण गर्न आफ्नै भुमिमा सौर्य उर्जामा आधारित विद्युतीय तारबार गर्दै गर्दा एसएसबीले हातहतियार सहित प्रवेश गरि भत्काएको थियो । 

कुटनैतिक मर्यादा बिपरित एकाएक नेपाली पक्षद्वारा निर्माणाधीन संरचना भत्काएको ३ दिन बिति सक्दा समेत नेपाल सरकारले मौनता देखाउदा राष्ट्रियता माथी गम्भीर असर परेको भन्दै स्थानियले आक्रोश ब्यक्त गरेका छन् । 

पुनर्वास नगरपालिकाको ६ लाखको बजेटमा निर्माण सुरु गरिएको तारबार एसएसबीले तोडफोड र भत्काएको तीन दिन बितिसक्दा समेत जिल्ला, प्रदेश र केन्द्रका कुनै पनि सरकारी कर्मचारी र जनप्रतिनिधिहरु नपुग्दा स्थानिय जनता निराश बनेका हुन । 

सामान्यतया दशगजा क्षेत्रमा कुनै देश तर्फ केही घटना वा संरचना निर्माणको बिषयमा बिवाद देखिए दुबै राष्ट्रका प्रशासनिक प्रमुखहरुको समन्वयमा देखिएका मतान्तर र समास्या सुल्झाउने प्रचलन रहे पनि एकाएक नेपाल प्रवेश गरेर एसएसबीले गरेको तोडफोड कुटनैतिक मर्यादा बिपरित भएको जानकारहरु बताउछन् । 

नेपाली अस्मिता माथी आँच पुग्ने गरि भारतीय पक्षले गरेको हस्तक्षेपको घटनाको ३ दिन बित्दा समेत नेपाल सरकारको गृह प्रशासनले निरीहता देखाउनुले राष्ट्रियता माथी प्रश्न खडा गरिदिएको स्थानिय कुबेर नाथले बताए ।  

भारतीय एसएसबीले नेपाली भुमिमा प्रवेश गरि तोडफोड गरेको घटनाको बिषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पनि गम्भीरतापुर्वक नलिइ घटनालाई सामान्य बनाउन खोजिएको पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण जैशीले बताए । 

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा,उपप्रमुख शारदा बिष्ट धामी ,बेतकोट नगरपालिकाका प्रमुख अशोक चन्द सहितको टोलिले शनिबार उक्त स्थलको अनुगमन गरेको थियो । अनुगमनमा उक्त क्षेत्रमा पुगेको नगर प्रमुख सहितको टोलीलाई बिवादित १९४ नम्बरको सिमा स्तम्भ भन्दा १ किमि दक्षिणतर्फ जंगलमा रहेको सिमा स्तम्भ नम्बर १९५ मा जान एसएसबीले रोक लागाए पछि केही बेर तनाव भएको थियो । लामो समयको छलफल पछि पत्रकारलाई रोकेर जान दिएको थियो । 

भारतीय पक्षले हस्तक्षेप गरेको पुनर्वासको बिचफाँटा पुगेका पुनर्वासका नगर प्रमुख जिवनराज थापाले भने 'आफ्नै देशको सीमानामा जान रोक लागाउने भारतीय प्रहरीको कार्य निन्दनिय हो ।'  उनले भने  ' यो भारतीय पक्षको दादागिरी शैली हो ।'

बिवादित उक्त क्षेत्रमा शनिबार पुगेका जिल्ला समन्वय समितिका अध्यक्ष फैरु तामाङले भने 'स्पष्ट रुपमा नेपालले आफ्नै भुमिमा तारबार गर्न नदिनु गलत हो । घटनालाई हलुंगो र सामान्य रुपमा हेरिनु सरकारको लाचारीपन र लापरबाही हो।' 

नेपाली भुमिमै भारतीय पक्षले गरेको अनधिकृत हस्तक्षेपको घटनाका ३ दिन बितिसक्दा समेत नेपाल सरकार र प्रशासनद्वारा बेवास्था र मौनता देखाउनुले नेपाली स्वाभिमान र आत्म सम्मानमा आँच पुगेको स्थानिय बासिन्दाले बताएका छन्। अरु बेला राष्ट्रवादका चर्का कुरा गर्ने राजनैतिक दलका नेता र सत्तामा आसिनहरु यति बेला भने मौन बन्दा स्थानिय निराश बन्न पुगेका छन्। 

आउदो बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजकीय भ्रमणमा आउनु भन्दा १५ दिन अघि पुनर्वासको बिचफाँटामा एसएसबी द्वारा घटाइएको घटनाप्रती सरकारको मौनतालाई अर्थपूर्ण रुपमा हेरिएको छ। केही बोले भारत रिसाउला कि भन्ने पिरले सरकार र गृह प्रशासन मौन बनेको हुन सक्ने स्थानियले आशंका लिएका छन्। 

पुनर्वासको बिचफाँटामा भारतीय पक्षबाट गरिएको हस्तक्षेपको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले समेत शनिबार अनुगमन गरेको छ। नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का सभापति गोपिप्रसाद उपाध्याय, महाधिवेशन प्रतिनिधि बन्धु राना र बिन्धु श्रेष्ठ लगायतको काँग्रेस प्रतिनिधिहरु शनिवार उक्त क्षेत्रमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ