arrow

संघीयता खारेज गर्न ओली सरकार लाग्यो – उपेन्द्र यादव

तात्दै फोरमसंगै राजपा नेपाल पनि 

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । नेपाल संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली संघीयता खारेज गर्ने लक्ष्यका साथ अगाडि बढेको आरोप लगाएका छन् । 

यादवले केन्द्र सरकार बेइमान भएको उल्लेख गर्दै प्रदेश सरकारलाई त्रिशंकु बनाएर संघीयता खारेज गर्ने योजनामा अगाडि बढेको संचारमाध्यमलाई बताए । 

उनले प्रदेश नंम्बर २ मधेसलाई मात्र नभएर सबै प्रदेशमा केन्द्र सरकारले पकड जमाएको बताए । 

उनले भने, ‘जसको कानुन छैन, काम गर्ने निकाय छैन, केही पनि गर्नै नसक्ने गरी बन्देज बनाइएको छ, अर्थ व्यवस्था छैन, सुरक्षा निकाय आफ्नो छैन अनि हुन सक्छ काम ?’

यादवले २ नम्बर प्रदेशमात्र होइन अन्य प्रदेशको हालत पनि एकै रहेको बताए । 

उनले नेपालको संविधान २०७२ लाई घटिया संविधानको संज्ञा दिए । उनले भने, ‘संविधान कुनै पनि हालतमा संशोधन गरिनु पर्छ, यो संविधानले केही पनि गर्दैन ।’

उनले मुलुकमा धेरै चुनाव भए भन्दैमा संविधान कार्यान्वयनको चरणमा रहेको भन्नु मुख्र्याईँ हुने समेत बताए । 

किन पड्किन थाले एकाएक यादव ?
संविधान संशोधन गर्छु भनी केपी शर्मा ओलीले नभनेसम्म सरकारमा समेत नजाने अडान लिएका यादव पछिल्लो समय एकाएक पड्किन थालेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै गर्दा ओलीलाई केही दवावमा राख्नका लागि पनि यादव पछिल्लो समय आक्रामक हुन थालेको विष्लेषण गर्न थालिएको छ । 

यादव सरकारमा जान पनि चाहन्छन् र संविधान संशोधन गर्न पनि चाहन्छन् भन्ने पार्नका लागि पनि उनी बढी सक्रिय देखिएका छन् । 

यादवलाई सरकारमा लैजानका लागि ओलीले थुप्रै प्रयास गरे पनि ओली सफल हुन सकेका छैनन् । 

भारत भ्रमणमा जानुअघि ओलीले यादवलाई सरकारमा ल्याउन प्रयास गरेको भए पनि भ्रमणपछि पुनः वार्ता सुस्ताएको छ । 

राष्ट्रिय जनता पार्टी नेपाल पनि आक्रामक चरणमा
राष्ट्रिय जनता पार्टी नेपाल पनि आक्रामक चरणमा उत्रन थालेको स्रोत बताउँछ । मोदीको आगमन हुँदा तरंग बनाउन पनि राजपासमेत तात्दै गरेको एक नेताले बताए । 

ओलीले राजपालाई पनि सरकारमा सामेल गर्न खोजेका छन् । दुई तिहाइको समर्थनमा सरकार बनाएका ओलीलाई राजपाको पनि समर्थन छ । 

तर राजपा अहिलेसम्म सरकारमा गएको छैन । राजपाले पनि दवाव दिनका लागि यो कदम चाल्दै गरेको बुझिएको छ । 

ओली निकटका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘भारतबाट कोही ठूलो मान्छे आउने भन्ने थाहा पाउँदा साथ मधेसी दलहरु आफूलाई बाघै ठान्छन् यो पहिलेदेखिको बानी हो, अहिले चर्काचर्का कुराहरु आउने पुरानै चलनको निरन्तरतामात्र हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ