arrow

पौडेलसंग किन रिसाए देउवा ? 

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
deuba-poudel.png

काठमाडौं । १४ दिनसम्म बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार सकिएको छ। चैत ९ बाट सुरु भई बैशाख १६ गते सर्वसम्मतिमा नै बैठक सकिएको बताइए पनि बैठकको सन्दर्भलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको दूरी झन् बढेको छ। 

बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनीहरुबीच मतभिन्नता झन् बढेको हो। सदस्यहरुले लिखित तथा मौखिक रुपमा बुझाएका धारणाहरुलाई समायोजन गरेर लैजाने क्रममा आफूले देखाएको लचकतालाई कमजोरीको रुपमा लिएको भन्दै देउवा रुष्ट भएका हुन्। 

केन्द्रीय समितिमा धारणा राख्ने अधिकांश नेताहरुको धारणालाई निर्णयमा सम्वोधन गर्न देउवाले पार्टीका नेताहरुलाई अर्हाएका थिए । प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताले सबैको भावना समेट्ने गरि गृहकार्यमा लागेका थिए । कुनै नेतालाई अप्ठेरो नपर्ने र भावना नछुट्ने गरी निर्णय लेख्ने प्रयास भएको बैठकमा सहभागि एक नेताले बताए । 

यस क्रममा पार्टीका अग्रज नेता तथा केन्द्रीय सदस्यहरुले राखेको धारणालाई संवोधन गर्ने प्रयास भएको प्रवक्ता शर्माले बताए । पार्टीको संगठन सुदृढिकरण र आगामी कार्यदिशाका सन्दर्भमा सबैको भावना समेट्ने गरी सर्वसम्मत रुपमा निर्णय लेख्ने प्रयास अन्तर्गत सबै नेताहरुसंग छलफल भएको शर्माले बताए । 

त्यस क्रममा लिखित रुपमा धारणा राख्ने नेतादेखि दस्तावेजका रुपमा राख्ने चन्द्र भण्डारी, गगन थापा लगायतका सात केन्द्रीय सदस्यको धारणादेखि नविन्द्रराज जोशी लगायतका नेताहरुले राखको लिखित धारणाका भावहरुलाई समेटिएको थियो । बैठकमा आक्रामक ढंगले प्रस्तुत भएका युवा नेताहरुसमेत मध्यमार्गबाट कसैलाई तेजोवध नहुने गरी निर्णय लेखेर जानका लागि सहमत भएपछि निर्णय सर्वसम्मत रुपमा लेखिएको थियो । 

निर्णय बहुमत वा अल्पमतमा नभइ सर्वसम्मत गरिए पनि वरिष्ठ नेता पौडेलले संचारमाध्यमलाई प्रतिक्रिया दिने क्रममा बहुमतको आधारमा निर्णय गरिएको भन्ने अभिव्यक्ति दिएपछि देउवा पौडेलसंग रुष्ट भएका छन्। 

अघिल्लो पटक केन्द्रीय समितिकै बैठकमा सभापति देउवाका विरुद्ध खुलापत्र लेखेर दुरी बढाएका पौडेलले अहिले त्यो दूरीलाई झनै बढाउने काम गरेको देउवा निकट एक नेताले बताए। 

सर्वसम्मतले निर्णय गर्दासमेत अल्पमत र बहुमत भन्दै प्रचारवाजी गरेपछि देउवा पदाधिकारी मनोनयन बहुमतबाटै गर्नेकि भन्ने तहसम्म पुगेका छन् । 

पार्टीको आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकमै पदाधिकारीहरुको नाम ल्याउन सक्ने आशंका पौडेल पक्षले गरेको थियो । 

बिना छलफल पदाधिकारीको नाम टुंगाउन नहुने दवाव पौडेल पक्षले दिएको थियो । आइतबारको बैठक सकिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमै पार्टी प्रवक्ता शर्माले पदाधिकारी मनोनयनका सन्दर्भमा सोमबार बिहानै बैठक बस्ने जनाएका थिए । तर बैठक भने बस्न सकेको छैन । 

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले समेत निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको प्रेस विज्ञप्ति जारी गरेका थिए । तर बिना सरसल्लाह पदाधिकारी मनोनयन गर्न लागिएको भन्दै पौडेल पक्ष बैठकमा सहभागी नहुने सम्भावना बढेको छ । यद्यपी पौडेल पक्षका नेताहरु पार्६ी कार्यालयमा उपस्थित छन्। 

पौडेल पक्ष बैठकमा उपस्थित नभएको अवस्थामा देउवा पक्षले बहुमतकै आधारमा निर्णय गर्ने तयारी पनि गरेको छ। केन्द्रीय समितिको निर्णय सर्वसम्मत जारी भए लगत्तै बहुमत वा अल्पमतको आधारमा निर्णय गर्दा भने नकारात्मक सन्देश जाने भन्दै केही देउवा निकट नेताहरुले सोमबार बिहान डाकिएको बैठक सरसल्लाहबाट अगाडी बढाउन वा स्थगित गर्न आग्रह गरेका छन् । 

तर देउवा भने सर्वसम्मत निर्णयलाई बहुमत भन्दै प्रचारबाजीमा पौडल लागेको आरोपमा आफूले अब बहुमतबाटै भए पनि पदाधिकारी नियुक्त गर्ने बताएका छन् । यही विवादका बीच सोमबार बिहान ८ः३० बजे डाकिएको बैठक १० बजेसम्म पर सर्न सक्ने स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ