arrow

को को बन्दैछन् काँग्रेस पदाधिकारी ? 

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसले बहुप्रतिक्षित पदाधिकारीको टुंगो सम्भवतः सोमबार लगाउने देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा पार्टी नेता विमलेन्द्र निधिलाई चयन गर्ने अन्तिम तयारी गरेका छन् । 

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि उपसभापतिका एकमात्र प्रवल दावेदार बनेका निधि देउवाको पनि पहिलो रोजाइमा छन्। काँग्रेसमा पार्टी नै विलय गराएका विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएपछि देउवाले निधिलाई उपसभापति बनाउने अड्कल काटिएको थियो । गच्छदार पनि उपसभापतिका दावेदार छन्। 

अर्का दावेदार गोपालमान श्रेष्ठलाई वरिष्ठ सदस्यहरुको रोलक्रममा एक नम्बरमा राखेर मनाएपछि निधिलाई उपसभापति बन्न थप सहज भएको हो । 

देउवाले महामन्त्रीमा भने पूर्णबहादुर खड्कालाई बनाउने पक्कापक्की भएको छ । महामन्त्रीमा देउवा टिमका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण लगायतका नेताहरु आकांक्षी भए पनि खड्का नै पहिलो रोजाइमा पर्दैछन् । 

स्वर्गीय खुमबहादुर खड्कासंग समेत निकट रहेका पूर्णबहादुरलाई महामन्त्री बनाउँदा खुमबहादुर समुहको समेत साथ पाउने विष्लेषण देउवाको छ । 

यसबीचमा महामन्त्रीका दावेदार बालकृष्ण खाँणलाई देउवाले संसदीय दलको प्रमुख सचेतक बनाइसकेका छन् भने कार्कीलाई पटक पटक आफू सरकारमा हुँदा वा नहुँदा आफ्नो तर्फबाट महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन् । 

सहमहामन्त्रीमा भने देउवाले पौडेल पक्ष सहमतिमा आउँदा पौडेल पक्षकै एक जनालाई बनाउने तयारी गरेका छन् । यो अवस्थामा पूर्वबाट महेश आचार्य, मध्य क्षेत्रबाट नविन्द्रराज जोशी र पश्चिम क्षेत्रबाट दिलेन्द्र प्रसाद बडुमध्ये एक जनालाई सहमहामन्त्री बनाउने देउवाको तयारी छ । 

तर सहमति नभएको अवस्थामा देउवाले आफू निकट मानवहादुर विश्वकर्मा, डा प्रकाशशरण महतमध्ये एकलाई बनाउने तयारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ