arrow

महाधिवेशनसम्म अध्यक्ष र प्रधानमन्त्री दुवैमा आलोपालो नेतृत्व हुन्छ : पौडेल

वैशाख २२ गते नै एकता हुन्छ : सांसद फुँयाल

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
devendra_paudel.JPG

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् ।  सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदन गरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन ।’

उनले एकता महाधिवेशन नहुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमा आलोपालो नेतृत्व हुने बताए । अध्यक्षदेखि प्रधानमन्त्रीमात्रै नभएर सबै कुरामा नेतृत्व आलोपालो हुने पौडेलको भनाइ थियो ।
नेकपा एमालेका नेतालाई बहुदलीय जनवादको माया लाग्नु स्वाभाविक भए पनि जनताद्धारा चलाइएको जनयुद्धलाई पनि एमालेका साथीहरुले माया गर्ने उनको विश्वास थियो । एकता प्रक्रिया अब छिट्टै टुंगिने बताउँदै ढिलाइ हुनुमा दुवै दलका समिति समायोजन गर्ने र शीर्ष नेताहरुको व्यवस्थापन गर्न केही समय लागेकोले ढिलाइ भइरहेको उनले जनाए ।

एकता प्रक्रियाबारे नेता पौडेलले भने, ‘कोट, पाइन्ट सिलाइसकियो अब आइरन गर्न बाँकी छ, या भनौं फर्निचर बनाइसकियो अब रंगरोगन गर्न बाँकी छ, एकताबारे दुवै अध्यक्ष ओली र प्रचण्डबीच गम्भीर वार्ता भइरहेको छ ।’ पार्टी एकता सम्मानजनक रुपमा हुनुपर्ने उनको जोड थियो । उनले थपे, ‘गणितको आधारमा एकता हुँदैन, एकता त सम्मानजनक रुपमा हुन्छ, औसतको आधारमा एकता हुँदैन ।’ क्षमता र योग्यताको आधारमा एकता हुने उनको जिकिर थियो ।

हिजो निर्वाचनमा ६० र ४० को अनुपातमा लडिए पनि अब पार्टी एकता ५०-५० को अनुपातमा नहुने उनले जिकिर गरे । उनले थपे, ‘एकले अर्कालाई सम्मान गर्ने हो, कसैले पनि अपमानित भएको महशुस गर्नुहुँदैन ।’

नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यही वैशाख २२ गतेभित्रै एमाले– माओवादी केन्द्रबीच एकता हुने स्पष्ट पारेका छन् । उनले भने, ‘ढुक्क हुनुहोस् यही वैशाख २२ गते पार्टी एकता हुन्छ, २३ गतेबाट हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्य हुन्छौं ।’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेता भएकोले उनीहरुले छिट्टै एकता टुंगो लगाउने फुँयालले जिकिर गरे । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीले देखेको सपना अब ओली र प्रचण्डले पूरा गर्ने उनको भनाइ थियो ।
कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर यही वैशाख २२ गते नै आफूहरुले एकता गर्ने प्रवल सम्भावना रहेको नेता फूयाँलले जानकारी दिए ।

नेताहरुको व्यवस्थापनमा खासगरी नेतृत्वमा विवाद रहेको यथार्थ भएपनि नेताद्वय ओली र प्रचण्डले त्यसलाई सहज रुपमा हल गर्ने उनको विश्वास थियो । माओवाद र जनयुद्ध राख्नेबारे आफूहरु अहिले पनि छलफलमा नै रहेको बताउँदै उनले भने, ‘जबज र २१ औं जनवाद यी सबैको न्यायिक इतिहास लेखिनुपर्छ ।’

उनले पनि दुवै दलबीच सम्मानजनक रुपमा एकता हुने विश्वास दिलाए । ‘सर्वोच्च र आधार दुवै तहका नेताको सम्माजनक रुपमा व्यवस्थापन हुन्छ’ –उनले थपे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ