arrow

कुन अनुहारले स्वागत गर्दैछ एमालेले मोदीलाई ?

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
oli-modi_new.jpg

काठमाडौं । नेकपा एमालेले अहिले निकै रोचक पूर्वक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्दैछ । त्यो पनि काठमाडौं नआई सीधै जनकपुर जाँदै गरेका भारतीय प्रधानमन्त्री मोदीलाई । 

एमालेले सार्क सम्मेलनका बेलामा गृहमन्त्री बामदेव गौतम हुँदा सुरक्षा दिन सकिँदैन भन्दै जनकपुर यात्रा गर्नबाट रोकेको थियो । अहिले एमालेकै नेतृत्वमा सरकार छ । त्यही सरकारले भने निकै तामझामका साथ सुरक्षा प्रवन्ध मिलाएर मोदीलाई जनकपुरमा स्वागत गर्दैछ । 

त्यतिबेला एमाले नेताहरुले सुरक्षा दिन सकिँदैन भनेरै सरकारलाई असहयोग गरेका थिए । जबकि एमाले पनि सरकारमै थियो । अहिले के परिवर्तन भयो मुलुकमा जसले गर्दा मोदीलाई सुरक्षा दिन सरकार तत्पर भयो ? 

मोदीको इच्छाशक्तिलाई पूरा गर्न नै प्रधानमन्त्री केपी शर्मा ओलीले यो कदम चालेका हुन् । ओलीको स्वागत र सहयोगका लागि मोदीले कुनै पनि कसर बाँकी राखेनन् । त्यसैले पनि मोदीका लागि ओली पूर्णनतमस्तक छन् । 

अहिले सामाजिक संजालहरुमा मोदीका विरुद्धमा लहर चलिरहेको छ । मोदीले लगाएको नाकाबन्दी र संविधान जारी भएपछि गरेको असहयोगलाई नेपालीले भुल्न सकेका छैनन् । त्यसको उपज पनि होला । 

हुनत एउटै विषयलाई सम्झेर मुलुक अगाडि बढ्दैन । भारतले गल्ती स्वीकार नगरे पनि नेपालको संविधानको स्वागत गर्दै त्यसपछि नेपालका कार्यकारी प्रमुखहरुलाई आफनो देश बोलाएर स्वागत गरिसकेको छ ।

अर्थात् भारत नेपालसंग सम्बन्ध गाँस्न चाहन्छ । त्यो सम्बन्ध हालका प्रधानमन्त्री केपी ओलीसंग सुमधुर राख्दै आफ्नो स्वार्थ पूर्ति गर्न हो वा नेपालको विकास नगरी आफ्नो देश पनि अगाडि बढ्न सक्दैन भन्ने निचोडमा भारत पुगेको हो यसको मुल्यांकन विष्लेषकहरु फरक शैलीमा गरिरहेका छन् । 

एक भारत निकट विष्लेषकका अनुसार भारतको नेपाल मोह विकासका लागि भएको बताउँछन् । त्यस्तै अर्का एक माओवादी केन्द्रका नेता भने भारतको परिवर्तित स्वरुपले वाम गठबन्धनको सरकारलाई फाइदा पुृग्ने बताउँछन् । 

त्यसैले होला पहिले भारतको विरोध गर्ने माओवादीका गृहमन्त्री रामबहादुर थापा बादल मंगलबार जनकपुर गएर सुरक्षा माहोल बनाएर आएका छन् । 

सुरक्षा चुनौती पहिले भन्दा अहिले 
उच्च स्रोतका अनुसार सुरक्षा चुनौती पहिले भन्दा अहिले छ । प्रदेश संरचनामा मुलुक गइसकेपछि मोदीको प्रदेश २ मोहप्रति अरु प्रदेश सरकारले रुची दिएका छैनन् । छिमेकी कार्यकारी आउँदा मुलुकले नै स्वागत गर्नुपर्ने थियो । त्यो माहोल केपी ओली नेतृत्वको केन्द्र सरकारले गर्न सकेन । 

मोदीलाई पहिले काठमाडौंमा स्वागत गर्दै जनकपुर, मुक्तिनाथ वा यस्तै ठाउँमा पठाउँदा केन्द्रदेखि प्रदेश सरकारहरु सक्रिय हुने थिए । मोदी सीधै जनकपुर जाँदा त्यो विषय प्रदेश २ को मात्र भएको भन्दै अन्य प्रदेशले रुची नदेखाउनु स्वभाविकै हो । 

सुरक्षा चुनौती पनि त्यत्तिकै भएको बुझिन्छ । सुरक्षा कडा बनाउनकै लागि भारतीय हेलिकप्टरले बुधबारदेखि नै जनकपुरमा अभ्यास थालेको छ । पाँच घेरामा सात हजार सुरक्षाकर्मीले मोदीलाई सुरक्षा दिनेछन् । 

त्यसैगरी मुक्तिनाथमा पनि सुरक्षा प्रवन्ध मिलाइएको छ । भारतीय दूतावास पनि सुरक्षा प्रवन्धका लागि नेपाल सरकारसंग आग्रह गर्दै अगाडि बढिरहेको छ । 

ओलीको भारत मोह 
ओलीको भारत मोह पूर्व नीति विपरीत गएको दृष्टान्त दिनका लागि भारतीय दूतावासले गर्न पाउने लगानी सम्बन्धमा हेरे पुग्नेछ । यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय दूतावासको प्रत्यक्ष सहभागीता भएसंगै मुलुकको हितका लागि भन्दै भारतीय दूतावासलाई नेपालका कुनै पनि ठाउँमा सीधै लगानी गर्न रोक लगाएको थियो । 

तर ओली सरकारले पाँच करोड रुपैयाँसम्मका परियोजनामा सीधै लगानी गर्न अनमुति दिएको छ । भारतीय दूतावासले ‘साना अनुदान सम्झौता’ अन्तर्गत रहेर लगानी गर्न पाउने छ । अर्थात् ओली सरकारले भारतमार्फत आफ्ना योजना पूरा गर्न चाहन्छ । यो कसका लागि कति फाइदाजनक होला भन्ने जगजाहेर छ । 

एमालेले आफ्ना कार्यकर्तालाई पोस्नका लागि दूतावासलाई उक्त अनुमति दिएको आरोप लाग्ने निश्चित छ । 

ओली राष्ट्रवादी ? 
ओलीले चुनावका बेलामा गरेको राष्ट्रवादको नारा खोक्रो भएको माथिको उदाहरणले पुष्टि गरिसकेको छ । कसैसंग झुक्दैनौं र नेपाल आफैले सबै गर्न सक्छ भनेर खोक्रा नारा लगाउँदै मतदातालाई मुर्ख बनाउने अनि आफूले भारत गएर राजकीय सम्मान खाएपछि भारतको हस्तक्षेप सकियो भनेर फेरि मुर्ख बनाउने प्रयास ०७२ सालमै गरेका थिए । 

अहिले पनि ओलीसंगै उनी नेतृत्वको सरकारलाई भारतले गरेको सहयोगबाट ओली नतमस्तक छन् । आफू भलो त जगत भलो भन्ने भनाई ओलीले चरितार्थ गरिरहेका छन् । 

नेपाल नीति जहिले पनि छिमेकीसंग राम्रो सम्बन्ध बनाउने भन्ने हुनुपर्नेमा दुई मत छैन । त्यो चाहे भारत होस् वा चीन । सुमधुर सम्बन्धले नै विकासमार्गमा अगाडि बढ्न सकिन्छ । 

ओलीको भनाइ र गराइको अन्तर भने निकै फराकिलो छ । उनको राष्ट्रवाद स्वार्थवादमा परिवर्तन भइसकेको छ । त्यसैले त मौसमअनुसार परिवर्तन हुने एमालेले अहिले मोदीलाई तामझामका साथ स्वागत गरेको कत्तिको सुहायो मान्यवर ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ