arrow

चीनलाई उपहार दिइने गैँडा समातियो

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
Rhino.jpg.jpeg

चितवन । चीन सरकारलाई उपहार दिन लागिएका दुई जोडी गैँडा नियन्त्रणको काम सम्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार क्षेत्रबाट दुई पोथी गैँडा तथा गैँडा देवीतालबाट एक भाले नियन्त्रणमा लिइएको छ । बाढीले बगाएपछि उद्धार गरी सौराहामा राखिएको एउटा भाले गैँडा पनि उपहार दिइने भएपछि तीन गैँडा नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए  ।

उनका अनुसार आज सुखिभारबाट करीब दुई वर्षको पोथी गैँडा नियन्त्रणमा लिइएसँगै चीन पठाउने गैँडा नियन्त्रण कार्य सम्पन्न भएको छ । ती गैँडालाई सौराहामा बनाइएको पिट बुमामा राखिएको छ । बाढीले बगाएपछि उद्धार गरिएको गैँडा प्रकृति संरक्षण कोषमा रहेको उनले बताए । पठाउन लागिएका गैँडा दुई वर्ष हाराहारीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।

बच्चा गैँडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताए । गैँडाको बच्चा तीन चार वर्षसम्म आमासँगै रहन्छ । सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने हुँदा लिङ्ग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको ढकालले बताए ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैँडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैँडा नियन्त्रण र आनीबानीलगायत कुरा बुझ्न चिनियाँ प्रतिनिधि सँगै छन् । केही दिन पिट बुमामा राखेर गैँडाले खाना खान सहज भएपछि खुल्ला बुमामा छाडिनेछ । करीब तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ ।

विसं २०७३ असारमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेका थिए । नेपाली विज्ञ टोली गैँडा चीन लगेपछि राख्ने ठाउँको अध्ययनसमेत गरेर फर्केको थियो । यसअघि पनि नेपालले विभिन्न देशलाई गैँडा उपहार दिँदै आएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ