arrow

आगलागीबाट १७ घर खरानी

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
fire.jpeg

मुगु  । बिहिवार बिहान ९ बजेदेखि आगलागी हुँदा यहाँको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् । आगलागीपीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् ।

आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।स्थानीयवासीले १९ घर जलेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले १७ घर जलेको बताएको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पुगिने सो गाउँमा सञ्चार सम्पर्क जोड्न कठिन भएकाले क्षतिको विस्तृत विवरण आउन भने ढिलाइ भइरहेको बताइएको छ ।

बिहान ९ बजेदेखि शुरु भएको आगो अपराह्न ३ बजेपछि मात्र नियन्त्रणमा आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी नियन्त्रण र पीडितको उद्घारका लागि प्रहरी चौकी पुलुबाट प्रहरी गए पनि टाढा भएका कारण प्रहरी समयमै पुग्न गाह्रो भएको र सम्पर्क गर्न पनि कठिनाइ भएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दुई दिन पैदल दक्षिण पूर्व रहेकाले सदरमुकामबाट तत्काल राहतका लागि जान समस्या भएको छ । पीडित परिवारलाई पुनःस्थापित र राहत दिनेबारे आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको बैठकले अग्निपीडितका लागि तत्काल प्रतिपरिवार रु १० हजारका दरले राहत उपलब्ध गराइने निर्णय गरेको छ ।

रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, लत्ताकपडा र भाँडा उपलब्ध गराउने गाउँपालिकाले तीन महिनासम्मका लागि खाद्यान्न उपलब्ध गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य टोली खटाउने, खाद्य संस्थानले ५० क्विण्टल खाद्यान्न उपलब्ध गराउने तथा उपलब्ध राहत सामग्रीको व्यवस्थापन र सुरक्षा जिल्ला प्रहरी कार्यालयबाट गर्ने निर्णय गरिएको प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए । आगलागीबाट ११२ जना प्रभावित भएका छन् । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ