हुरी बतासबाट सयभन्दा बढी विद्युत्का खम्बा भाँचिए, ३० लाखको नोक्सानी
प्रकाशित २०७५ वैशाख २० बिहिबार
605
Shares
कपिलवस्तु। बुधबार राति आएको हुरी बतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्का १०० भन्दा बढी खम्बा भाँचिएका छन्।
त्यसबाट तीन ट्रान्सफर्मर पनि खसेको छ। यशोधरा गाउँपालिकाको भंडेहर, कृष्णनगर नगरपालिकाको कर्मा र मायादेवी गाउँपालिकाको अभिरावमा ट्रान्सफर्मर खसेको नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाले जनाएको छ। भाँचिएका खम्बा, तार र खसेको ट्रान्सफर्मरका कारण करीब रु ३० लाख बढीको नोक्सानी भएको शाखा प्रमुख हिमांशु यादवले बताए।
जिल्लाका बर्रोहिया, पकडी, हथिहवालगायत पूर्वीतर्फका गाउँमा विद्युत् खम्बा भाँचिएका कारण यस क्षेत्रको विद्युत्लाइन अवरुद्ध भएको छ। विद्युत्लाइन सञ्चालन गर्न बिहान सबेरैदेखि प्राविधिकको टोलीसहित आफूहरु फिल्डमै खटिएको कार्यालय प्रमुख यादवले बताए। रासस