बेलायतमा स्थानीय निर्वाचनका लागि मतदान, प्रधानमन्त्रीको परिक्षण हुँदै
प्रकाशित २०७५ वैशाख २० बिहिबार
665
Shares
लण्डन। बेलायतमा बिहीबार भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ। दशौं लाख मतदाताहरूले गरेको मतदानलाई प्रधानमन्त्रीको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ।
देशभरी रहेका १५० परिषद् क्षेत्रमा निर्वाचन भएको हो। सवै परिषद्मा गरेर झण्डै ४४ सय सिट रहेको छ। प्रधानमन्त्री टरेसा मे र उनका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गरेका थिए।
राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन्। मतदानलाई व्यवस्थित गर्न मतदातालाई पाएक पर्ने गरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन अधिकारीले बताए। मतदाता सूचिमा नाम भएकाहरूलाई सवारी चालक अनुमतिपत्र, राहधानी जस्ता फोटो सहितका कुनैपनि आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न दिइएको थियो। रासस-सिन्ह्वा