arrow

ओलीको त्यो राष्ट्रवाद र यो लम्पसारवाद

logo
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेपाली जनता दुःख दिएर पनि कमाएको त्यो राष्ट्रवाद र अहिलेको यो लम्पसारवाद छरपष्ट भएको छ । भारतले लगाएको नाकाबन्दीसंग जोडेर ओलीलाई नेपाली जनताले प्रशंसा गरे । ग्यास चुलो बाल्ने सोझा नेपालीले दाउरा बालेर राष्ट्रवाद पनि घन्काए । तर त्यो ओलीलाई दिएको समर्थन हैन आफ्नो देशका लागि थियो । 

ओलीले नेपालीको त्यही सोझोपनलाई धनमा बदले । स्वार्थमा बदले । नाकाबन्दीका समयमा ओलीको जति प्रशंसा भयो उनले त्यति नै बढी फाइदा उठाए । एमालेले फाइदा उठायो । 

जुन समयमा नाकाबन्दी भएको थियो सोही समयमा सबैभन्दा बढी तस्करी भएको थियो । त्यो तस्करी केपी ओली प्रधानमन्त्री हुँदा भएको हो । अझ झापाबाट सबैभन्दा बढी तस्करी भएको छ । 

तस्करीकै डिजेल, पेट्रोल र ग्यासले नै सहर धानेको थियो । ब्ल्याक मार्केट समानान्तर रुपले चलेको थियो । घरानियाँले महंगोमा नै पेट्रोलियम पदार्थ बेच्ने लाइसेन्स पाएका थिए । नाकाबन्दीका नाममा छोटो समयमै अकुत सम्पत्ति कमाउने र आमसर्वसाधारणलाई नाकाबन्दीको हौवा देखाएर ओलीले वैधरुपले तस्करलाई अगाडि बढाएका थिए । 

विभिन्न नाकाबाट पेट्रोलियम पदार्थ गाडीमा, ट्रकमा ल्याउनेलाई निर्वाध रुपले छाडिएको थियो । सडकमै त्यस्तो पदार्थ छाडिन्थ्यो । घरानियाकहाँ सीधै पठाइन्थ्यो । 

समानान्तर तस्करी गर्नका लागि गिरोह नै संचालित थियो । त्यो गिरोहमा एमालेका तर्फबाट तस्करीका लागि संरचना नै खडा गरिएको थियो । यसलाई एमालेले धनआर्जन गर्ने व्यापार नै बनाएको थियो । 

काठमाडौंमा सोही समयमा घरजग्गाको कारोबार पनि ह्वात्तै बढेको थियो । नाकाबन्दीका बेलामा घर कारोबार बढ्ने कसरी हुन सक्छ ? 

ओली प्रधानमन्त्री भएका बेलामा काठमाडौंमा पेट्रोलियम अभाव हुन नदिन सबै तस्करका बाटा खोलिदिएका थिए । संगठित रुपमा एमालेका नेता तथा कार्यकर्ता थिए । तराईमा मधेसी केही नेता भए पनि केन्द्रदेखि बाहिरसम्म देशैभरि एमालेका नेता कार्यकर्ता लागेका थिए । 

यो कुरालाई एमालेका केही नेताले त छलफलकै क्रममा स्वीकार्दैै आएका छन् । अर्कातर्फ मधेसका नेतालाई भारत परस्त आरोप लगाएर देशभर ‘एन्टी इन्डियन प्रपोगण्डा’ रचेर ओली सफल भएका छन् । 

यसो गर्नुको पछाडि ओलीको चुनावी योजना थियो । उनीसंग एमालेलाई चुनावमा लैजानका लागि कुनै योजना थिएनन् । एमाले संविधान संशोधनको विरोधी थियो । उसले कहीं कतैबाट समर्थन नपाउँदा के गर्दा भोट पाउन सकिन्छ भनी चाल चलेका थिए । त्यो योजना सफल भएको छ । संविधान कार्यान्वयन गर्न निर्वाचन हुने सम्भावना नदेखेपछि उसले यो चाल चलेको हो । नेपालमा रहेको ‘एन्टी इन्डियन सेन्टिमेन्ट’लाई ओलीले भजाएर रणनीति सफल बनाए । 

हिजोको दिनसम्म भारत नजिक भएको चरित्रमा परिचित ओलीलाई त्यही विरोधी प्रक्रियाका कारण जनताले साँचो सम्झेर सघाए । 

ओलीको त्यो व्यवहार अहिले भने लम्पसारवादमा परिणत भएको छ । जनतालाई धोका दिएका छन् । सीमामा भारतीय एसएसबीका मान्छेहरु आएर नेपालीमाथि दमन गर्दा पनि ओलीले नबोलिदिँदा ओलीको लम्पसारवादी चरित्र उदांगिदै गएको छ । सीआइबीले सीमा स्तम्भ ढाल्दा पनि एमाले बोल्दैन त !

ओलीले भारतीय दूतावासबाट खर्च गर्न पाउने ‘साना लघु योजना’ लाई खुला गरिदिएर अर्को लम्पसारवादको नमूना देखाएका छन् । जबकि त्यो योजना गलत तबरले भइरहेको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए । 

नेपाली जनतालाई धोका दिएर पेट्रोलियम पदार्थबाट तस्करी गरेर पैसा कमाउने योजना पनि सफल भयो र अहिले फेरि उनी लम्पसार पर्दा पनि ओलीलाई फरक त पारेन । आखिर ओली आफूलाई शक्तिकेन्द्रमा राखिरहन चाहन्छन् । यसबीचमा जनताले के पाए ?    
 

ओली भारतको सबैभन्दा नजिक भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर नै पुग्दैछन् । केन्द्रमा रहेर स्वागत गर्नुपर्ने प्रधानमन्त्री प्रदेशमा जानुलाई पनि लम्पसारबादको विष्लेषण गर्न थालिएको छ । अगाडि हेर्दै जाऔं के के हुने हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ