arrow

सुदूरपश्चिमको प्रसिद्ध वैद्यनाथ मन्दिर कटानको जोखिममा

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
Baidhyanath-Achham-Dialnp-300x225.jpg

अछाम । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ धाम मन्दिर कटानको उच्च जोखिममा परेको छ । मन्दिर नजिकै भएर बग्ने बूढीगंगा नदीले वर्षेनी कटान गर्दै गएको छ । कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन । विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो । मन्दिर क्षेत्रका सबै संरचना बगाए पनि त्यहाँ रहेको शिवलिंग भने यथास्थानमै फेला परेको बताइन्छ । शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो । नदीले वर्षेनी मन्दिर क्षेत्रको जमीन कटान गर्न थालेपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक तथा ऐतिहासिक क्षेत्रको कटान रोक्नका लागि सरोकार भएकाहरुले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ । विगतमा जलउत्पन्न प्रकोप कार्यालय र तत्कालीन जिल्ला विकास समितिका पहलबाट कटान रोक्न प्रयास गरिए पनि प्रभावकारी भएन । अहिले नयाँ लागत अनुमान बनाएर कटान रोक्नका लागि पहल भइरहेको वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवका उपाध्यक्ष डण्डिराज जोशीले बताए । “कटान रोक्नका लागि पहल नभएको हैन”, उनले भने, “काम धेरै भयो, वर्षेनी नदीमा आउने बाढीले कटान गर्दै लैजाने गरेको छ, यस विषयमा सराकोरवाला पनि गम्भीर छन् ।”

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ क्षेत्रको कटान रोक्न पहल गरिने बताए । “मन्दिरको सरक्षण संवद्र्धनका लागि अब ठोस योजना बनाएर अगाडि बढ्न जरुरी छ”, कुँवरले भने; “मन्दिर वरिपरिको भूभाग कटान हुन नदिन प्रभावकारी तटबन्धन निर्माण गरिने छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ