माक्र्सवादको जगमा नेपालका कम्युनिष्ट पार्टीहरुको एकीकरण : प्रधानमन्त्री ओली
साना विषयले एकीकरणमा अलमल हुनुहुँदैन
प्रकाशित २०७५ वैशाख २२ शनिबार
378
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन् ।
एमाले स्थायी कमिटीले कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा शनिवार आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले माक्र्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिष्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पारे ।
उनले भने, “हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन । साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र समाजवादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो ।”
प्रधानमन्त्री ओलीले पूँजीवादी क्रान्ति गर्ने कम्युनिष्टहरुको काम नभई पूँजीको विकास गर्दै समाजवादको बाटोमा लम्कनु माक्र्सवादको सही प्रयोग हो भन्दै माक्र्सवाद सामाजिक शोषणविरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ नहुने दाबी गरे। रासस