मोदीको स्वागत गर्न प्रदेश २ आतुर, मुख्यमन्त्री भन्छन् –हेप्यो केन्द्रले
प्रकाशित २०७५ वैशाख २३ आइतबार
896
Shares
जनकपुर । प्रदेश नम्बर २ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको पटनाबाट सीधै जनकपुर आउने भएपछि दंग छ । छिमेकीको सीधा रोजाइमा परेपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत पनि निकै उत्साही छन् ।
तर उनको उत्साह भने केन्द्र सरकारले खाइदिएको छ । उनी भन्छन्, ‘केन्द्र सरकारले बजेट नदिएपछि खर्च नै केही गर्न पाइएन ।’
जनकपुरमा सरसफाइका लागि मुख्यमन्त्री राउत नै सडकमा उत्रिएका छन् । हुनत यो काम स्थानीय सरकारले गर्न सक्थ्यो । तर हरेक चिजलाई बजेट खोज्ने बानीका कारण पनि सरसफाइ हुन सकेको थिएन ।
हुनत नेपालमा जुनसुकै ठाउँमा पनि सरसफाइ गर्नेदेखि स्थान सिंगार्ने काम गर्नलाई विदेशी नै आउनु पर्छ ।
यसबारे मुख्यमन्त्री राउत भन्छन्, ‘यो पुरानो मानसिकता हो, हामी संघीय संरचनामा आए पनि मानसिकता बदलिएन, केन्द्रकै मुख ताक्नुपर्ने अवस्थाले यो गति भइरहेको छ ।’
मोदी बैशाख २८ गते शुक्रबार पटनाबाट जनकपुर आउने छन् । झण्डै तीन घण्टाको बसाइमा उनले जानकी मन्दिरमा पुजा गर्नेदेखि रंगभूमि मैदानमा नागरिक अभिनन्दन खानेछन् ।
सरसफाइ र रंगरोगनमै किन लाग्यो जनकपुर ?
सरसफाइ त यसै पनि छिमेकी देशको कार्यकारी आउँदा गर्नु स्वभाविकै हो । रंगरोगनको भने विशेष कम्बिनेशन छ ।
अहिले जनकपुरका सहर आसपासका घरघरमा पहेंलो रंगरोगन भइरहेको छ । त्यसको खास कारण मोदीको राजनीतिक कनेक्सन पनि हो ।
मोदी चुनावबाट गुज्रिरहेका छन् । प्रदेशमा चुनाव हुँदा उनी भ्रमणमा रहेका छन् । मधेससंग भारतको सेन्टिमेन्ट पनि रहेको छ । अनि मधेस पनि मोदीप्रति सेन्टिमेन्ट छ ।
सोही कारणले मोदीको भारतीय जनता पार्टीको रंग ‘पहेंलो’ लाई विशेष रुपले समर्थन गर्दै सजाइदैछ ।
जनकपुरको रंगरोगनले भारतलाई भारतीय राजनीतिलाई फरक नपारे पनि मोदीको मन थप मनकारी भइदियो भने जनकपुरको रंगरोगन भने चम्किलो हुन सक्छ । सम्भवतः त्यसकै नतिजा होला यो ।