काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काठमाडौँ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ ।
कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ। उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने कामपा सहप्रवक्ता नवराज ढकालले भने।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी नहुने बताउँदै अहिले गरिएको सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ गर्न उपसमितिलाई आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उनले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाडौँ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नेछन् । त्यसपछि काठमाडौँ फर्केपछि भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २:४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ । रासस