arrow

बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन : वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
paudel-ramchandra-news.jpeg

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् ।  बिपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा मंगलवार यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले बिपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गरे।

नेपाली कांग्रेसले बिपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा गरे।  “नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ”, उनले भने, “जनताको पक्षमा संविधान निर्माण भएको छ, बिपीको समाजवाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ ।”

बिपीको नाम बेचेर मूल पार्टी कांग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले बिपीको सिद्धान्त एवं आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक एवं आवश्यक भएको बताए ।

नेपाली कांग्रेस महासमिति सदस्य विनिता अधिकारीले बिपी दूरदर्शी नेता भएको बताउँदै नेपाली जनताको स्वतन्त्रता र लोकतन्त्रको स्थापनाका लागि उहाँले अघि बढाउनुभएको विचार तथा आदर्श प्रत्येक राजनीतिकर्मीका लागि प्रेरणको स्रोत भएको बताए  ।

नेपाल महिला संघका जिल्ला अध्यक्ष कोपिला रानाभाट, नेपाली कांग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डेलगायतले बिपीका विचारलाई जनतामाझ लैजान सकेमात्र पनि नेपाली कांग्रेसका पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ