काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजीआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज (मंगलबार) सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख कृष्णबहादुर महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताए ।
‘नेपाल र बेलायतको सम्बन्ध राजनीतिक स्तरमा मात्रै सीमित छैन, जनस्तरमा समेत रहेको छ, उनले भने, ‘जनता–जनताबीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको छ ।’ बेलायतको संसदीय टोलीलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको भन्दै सभामुख महराले दुई देशबीचको संसदीय अनुभव आदान प्रदान गर्न भ्रमण फलदायी हुने आफूले विश्वास लिएको बताए ।
नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताए । ‘हामी संघीयताको अभ्यास गर्दैछौं, अहिले स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार सञ्चालन गरिरहेका छौं, उनहाँले भने, ‘बेलायत र नेपालको संसदीय प्रक्रिया उस्तै उस्तै भएकाले एक अर्काको अनुभव आदान प्रदानका साथै हामी बेलायतबाट सिक्न चाहन्छौं ।’
बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायतका क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताए । धेरै नेपालीहरुले गोरखा सैनिकको रुपमा बेलायतमा सेवा गरिरहेको भन्दै सभामुख महराले उनीहरुका जायज मागहरु पूरा हुनेमा आफू विश्वस्त रहेको बताए ।
भेटका अवसरमा ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य तथा बेलायती सांसद नाइजेल इभान्सले दुई देशको सम्बन्ध निकै समधुर र प्रगाढ रहेको बताए । इभान्सले नेपाल पर्यटनका हिसाबले निकै सुन्दर देश भएको बताउँदै हरेक वर्ष थुप्रै बेलायती नागरिकहरु नेपाल भ्रमण गर्न आउने गरेको बताए । उनले बेलायत सरकारले विभिन्न माध्यमबाट शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा गर्दै आएको सहयोग निरन्तर भइरहने आफूले विश्वास लिएको बताए ।
भेटवार्तामा उपसभामुख शिवमाया तुम्वाहाम्फे, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भ्रमण टोलीमा रहेका बेलायती सांसदहरु इभान्सका साथै डेभिस मोरिस, केरी म्याककर्थी, वीरेन्द्र शर्मा, लर्ड बाल्फे, लर्ड डोलाकिया र बिजीआइपियूकी प्रोजेक्ट म्यानेजर एमिली डेभिस रहेका थिए ।