काँग्रेसमा गुटको राजनीति त्याग्न डा कोइरालाको आग्रह
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
418
Shares
मोरङ । नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले पार्टीका आम कार्यक्रर्तालाई गुटको राजनीति तत्कालै त्यागेर पार्टी संगठनमा लाग्न आग्रह गरेका छन् । ‘गुटको राजनीति सवैले छोड्नूस अनि कांग्रेस बलियोे भएर जान्छ’ बुधबार मोरङको सुन्दरहरैचामा आयोजित सभामा बोल्दै डा कोइरालाले भने, यस्तै स्थिति रहदै गयो भने पार्टी इतिहासकै कमजोर बन्छ।
पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौंको सुन्दरीजलमा बुधवार आयोजना गरेको छुट्टाछुट्टै भेलालाई लक्षित गर्दै डा कोइरालाले पार्टीमा देखिएको चरम गुटबन्दी भातृ संगठनमा आएर छताछुल्ल भएको बताए। ‘नेविसंघको एउटै कार्यक्रम एकै स्थानमा दुइ गुटले चलाए । पार्टीलाई विधी र विधान अनुसार चलाउन नसक्दा यो परिस्थितिको सृजना भएको हो’, उनको भनाई छ।
विद्यि र विद्यान अनुसार पार्टी संचालन गर्न गुटको अन्त्य गर्न तत्कालै जिल्ला सभापति र महासमितिको भेला डाक्नुपर्ने उनको सुझाब छ। सभापति र महासमितिकोे भेला पछि पार्टी एक ढिक्का हुने छ । डा कोइरालाले विश्वास व्यक्त गर्दै भने, ‘दुवै भेलाले पार्टीको नयाँ विद्यान बनाउँछ र त्यसको कार्यान्वयन १४औ महाधिवेशन पछि हुनेछ ।’
यही गुटबन्दीका कारण पार्टीले गाउँदेखी केन्द्रसम्म पराजय भोग्नु परेको उनको ठम्याई छ। गुटका कार्यकर्ताले आफ्ना उम्मेदवारलाई मात्र विजयी गराउँदा आज पार्टी यो स्थितिमा पुगेको हो डा कोइरालाको आरोप छ ।
सभापति देउवाले पार्टीमा गुट चलाएको आरोप डा कोइरालाले लगाए । सभापतिजी पार्टीलाई तदर्थ समितिमै अझै चलाउन खोज्दै हुनुहुन्छ डा कोइरालाले भने, ‘देउवाजीको त्यो सपना कुनै पनि हालतमा पुरा हुन दिने छैनौं।’ देश संघीयतमा गइसकेको र गाउँ ,नगर , जिल्ला र प्रदेशको संरचना पार्टी भित्र गठन गर्नूपर्ने अवस्था भएकोले पुरानो ढर्काले अब पार्टी चल्न नसक्ने उनको ठोकुवा थियो ।
‘नयाँ संरचना अनुसार पार्टीलाई चलायमान गराउन सकियो भने आउदो ५ बर्षपछि कांग्रेस पुरानै स्थितिमा फर्किन्छ’, डा कोइरालाले बताए ।