arrow

मोदीको भव्य स्वागत गर्छौं, विरोध गर्नुको कुनै तुक छैन : राजन भट्टराई

सरकारलाई मात लागेको छ, मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा प्रतिपक्षसँग छलफल गरेन : खड्का 

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
rajan_bhattrai.jpg

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका नेता, नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य एवम् परराष्ट्रविद् डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कसैले विरोध गर्नुको तुक नभएको स्पष्ट पारेका छन्। उनले भने,‘मोदीजीलाई हामी भव्य स्वागत गर्छौं।’ 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भट्टराईले मोदी भ्रमणको सबै किसिमका तयारीहरु पूरा भैसकेको जनाए । उनले भने,‘मोदीजीको भ्रमणको लागि सबै किसिमको तयारी पूरा भयो, भ्रमण पहिलाको जस्तो परम्परागत होईन, यो पटकको भ्रमण पृथक छ, त्यसैले भ्रमणलाई लिएर क्रिया तथा प्रतिक्रिया आउनु स्वभाविक हो।’

आयोजित साक्षात्कारमा उनले भ्रमणको विषयवस्तुको बारेमा कम छलफल तर आलंकारिक (कस्मेटिक) विषयमा बढि चर्चा भएको बताए । उनले मोदीको स्वागत र सम्मानको लागि जनकपुरमा नागरिक अभिन्दन राख्नु नौलो कुरा नभएको बताए।

उनले थपे,‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो।’ त्यस्तै उनले मोदी किन पहिले काठमाडौं नआईकन जनकपुर आउन लागेको भनेर बहस भएपनि यो आजको विश्व कुटनीतिक अभ्यासमा भैरहेको कुरा भएको बताए।

नेता भट्टराईले नेपालका तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल भारत भ्रमणमा जाँदा पनि भव्य अभिनन्दन भएको स्मरण गराउँदै भने,‘सन् २००९ मा माधव नेपाललाई दिल्लीमा भव्य नागरिक अभिनन्दन भएको हो, सन् २०१६ मा हाम्रो प्रधानमन्त्री ओली भारत जाँदा गुजरातको हजमा र दिल्लीमा दुई ठाउँमा अभिनन्दन गरिएको थियो, यसपटकपनि हाम्रो प्रधानमन्त्रीलाई उत्तराखण्डमा पनि त्यही किसिमको नागरिक सम्मान भएको थियो।’

‘यो हाम्रो परम्परा हो, १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको थियो,’ डा. भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउ–ठाँउमा नागरिक अभिनन्दन हुन्छ।’ 

उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताए। ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदादेखि नै सुन्दै आएका हौँ साँचो बुझाउने कुरा।’

भट्टराईले थपे,‘स्न २०१३ मा अमेरिकी राष्ट्रपति बराक ओबामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको बेला चीनीयाँ राष्ट्रपति पनि वासिङटन नगई क्यालिफोर्निया जानुभएको थियो, त्यस्तै सि जिनपिङ पनि गुजरात जानुभएको हो, पछिल्लो समय मोदी बेईजिङ नगई चीनको केन्द्रिय शहर हुआनमा जानुभयो, भर्खरै ईजरायली प्रधानमन्त्री नयाँ दिल्ली नआई मुम्बई आउनुभयो, यो परम्परा अहिले सुरु भएको छ, मोदीजीले पनि नेपालमा आउँदा जनकपुर र मुक्तिनाथ भ्रमणमा जाने ईच्छा व्यक्त यस अघिपनि गर्नुभएको थियो, त्यसैले उहाँ अहिले जनकपुरबाट नेपालको भ्रमण सुरु गर्दैहुनुहुन्छ।’  

आफूहरु अहिले १९५० को अवस्थामा नरहेको बताउँदै आधुनिक युगमा सबै किसिमका असहमतिहरुलाई सहमतिका साथ अघि बढ्नुपर्ने बताउँदै उनले भने,‘विगतका कुराहरु बोकेर अब चिन्ता गर्नुहुँदैन, हाम्रो अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा जुन किसिमका अडानहरु लिनुभयो, आजपनि उहाँ त्यही अडानमा हुनुहुन्छ, हाम्रो मान्यता भनेको सम्बन्ध राम्रो र फराकिलो बनाउनुपर्छ, सहकायैका क्षेत्रहरु पहिचान गर्नुपर्छ।’

यद्धपी उनले भारतले सन् २००८ मा नेपालमा बाढि आएको बेला विराटनगरमा खडा गरेको कार्यालय आजको दिनसम्मपनि नहटाएकोप्रति दुखेसो पोखे । उनले भने,‘अस्ति भर्खरै हाम्रो प्रधानमन्त्री भारत जाँदा पनि यो कार्यालय हटाउनको लागि आग्रह गर्नुभएको छ, तर अहिलेसम्म भारतीय पक्षले कार्यालय हटाउन आलटाल गरिरहेको छ, यति सानो विषयमा भारतले आलटाल गर्नुहुँदैन्, हाम्रा ग्याँस बुलेटहरु रोकिएका छन्, अनुमति किन दिईएन्, अब यी सबै खाल समस्याहरु हल हुनुपर्छ।’
त्यस्तै उनले नेपालमा बाढी डुबान र एयर रुट  लगायतका समस्याहरु भएकोले आफूहरुले यो विषयमा पनि भारतीय पक्षसँग कुरा राखेको जनाए। 
नेपालको भारतसँग डरलाग्दो र भयावह अवस्थामा व्यापार घाटा रहेको बताउँदै नेपालले आगामी दिनमा आफ्ना उत्पादनहरु निर्यात गर्नुपर्नेमा उनको जोड थियो। उनले भने,‘भारतले एन्टी डम्पिङ ल लगाएर हाम्रा उत्पादनहरु अदुवा, अलैंची लगायतमा रोक लगाएको छ, अब यसको अन्त्य गर्नुपर्छ।’

उनले नेपालले ३ रुपैयाँको सामान निर्यात गर्ने र ९३ रुपैयाँको आयात गर्ने गरेको अवस्था रहेकोले अब नेपालले निर्यातलाई बढाउनुपर्ने धारणा राखे । उनले भने,‘वाणिज्य सन्धि पूनरोवलोकन गर्नुपर्छ, जसले गर्दा नेपालका एग्रिकच्लरल प्रडक्टस् भारत निर्यात गर्न सजिलो हुन्छ, अहिले समस्या छ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबै खाले समस्याहरु हल गर्नेगरि आफूहरुले ईपिजी बैठकमा सघन रुपमा छलफल गरेको भट्टराईले बताए । उनले भने,‘सुस्ता र कालापानी लगायतका सिमा विवाद र अन्य समस्याहरुको बारेमा पनि हामीले ईपिजीको बैठकमा छलफल गरिरहेका छौं, चाँडै निचोडमा पुग्छौं।’ 

पछिल्लो समय चीन, जापान र कोरियावीच त्रि–देशीय साझेदारी भएकोले नेपालले पनि क्षेत्रिय संगठनहरुको फोरमलाई सक्रियताका साथ उपयोग गर्नुपर्ने नेता भट्टराईले सुझाए । उनले भने,‘सार्क, विमस्टेक, ब्रिक्सजस्तो क्षेत्रिय तथा मल्टिल्याटरल फोरममा हामी सक्रिय बन्नुपर्छ।’

यद्धपीउनले त्रिदेशीय साझेदारीका विषयमा साझेदारीका विषयहरु पहिचान गर्नुपर्ने बताएका छन्।  उनले भने, ‘त्रिदेशीय साझेदारी गर्नुपर्छ। तर त्यस भन्दा अगाडि कुन कुन क्षेत्रमा साझेदारी गर्ने कस्तो किसिमको साझेदारी गर्ने भन्ने हामीले टुंगो लगाउनुपर्छ।’

उनले नेपाल, चीन र भारतबीच त्रिदेशीय साझेदारी आर्थिक विकास र लगानीको क्षेत्रमा हुनुपर्ने बताए । उनले भने,‘त्रिदेशीय साझेदारी हुनुपर्छ, नेपाल–भारत, चीन–नेपाल, भार र चीनबीच आ–आफ्नै खालका विशिष्ट सम्बन्ध छ, अब साझेदारी भनेको आर्थिक विकास र लगानीमा केन्द्रित हुनुपर्छ।’ 

उनले ग्यास बुलेट, एयर रुट, पावर ट्रेड एग्रिमेन्टको कार्यान्वयनका विषयमा समेतमा समस्या रहेको भन्दै त्यसलाई समाधान गर्नुपर्ने धारणा दोहोर्याए । 
प्रधानमन्त्री ओली र मोदी दुवैले अरुण तेस्रोको संयुक्त रुपमा काठमाडौंबाट स्विच थिचेर उद्धघाट्न गर्ने कार्यक्रम रहेको बताउँदै उनले यो परियोजना सर्वदलीय सहमतिबाट नै त्यतिवेला अघि बढाउने निर्णय भएको सुनाए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले मोदीको सम्मानको लागि जनकपुर र काठमाडौं दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गर्नुको अर्थ नभएको बताउँदै त्यो कांग्रेसको आधिकारिक धारणा नरहेको स्पष्ट पारे।

उनले भने,‘कांग्रेस प्रतिपक्षमा भएपनि विरोधको लागि विरोध गर्दैन्, यर्थाथको लागि विरोध हुनुपर्छ, एमालेले बरु सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ता बाहिर आएपछि अर्को कुरा गर्ने गरेको थियो, अहिलेपनि एमालेले मोदीको भ्रमणको बारेमा पर्याप्त छलफल गरेन, राष्ट्रिय विषयमा छलफल गर्नुपर्छ, अहिले यो सरकारलाई मात लागेको छ, दम्भ पलाएको छ, यस्तो पाराले हुँदैन, सत्ता त चल्ला, तर देश विकास हुँदैन नि, समृद्धि भनेरमात्रै हुने कुरा होईन।’

हिजो सबैभन्दा बढि विरोध गर्ने एमाले नै भएको बताउँदै आज एमालेले त्यो द्धेद्ध चरित्र त्यागेको नेता खड्काको भनाई थियो। ‘मोदीजी नेपाल भ्रमण गर्दै हुनुहुन्छ। उहाँ राष्ट्रको पाहुनाको रुपमा आँउदै हुनुहुन्छ,’ उनले भने, ‘मोदीको भ्रमणका क्रममा उठाउने एजेण्डाको विषयमा प्रतिपक्षसँग छलफल गर्नुपर्थ्यो। तर सरकारले छलफल गरेन।’

उनले अरुण तेस्रो भारतीय सरकारको लगानीमा निर्माण हुने भएकोले भारतले यसको लागि बजेटपनि विनियोजन गरिसकेको बताए । उनले भने,‘यो ९०० मेगावाट क्षमताको परियोजना डेढ खर्बको लगानीमा बन्दैछ, यसबाट नेपाललाई २०० मेगावाट निःशुल्क प्राप्त हुन्छ, त्यस्तै भारतले यो २५ वर्षमात्रै चलाउने हो, बाँकी ७५ वर्ष हामीलाई हुन्छ, यो फाईदाको कुरा हो।’ 

यो परियोजना निर्माण हुनु भनेको नेपालमा लगानी गर्न सकिन्छ भनेर विश्वस्तरीय वातावरण बनाउनपनि महत्वपूर्ण हुने उनको भनाई थियो । उनले भने,‘यो परियोजना सम्पन्न भए संखुवासभावासी खुशी हुन्छन्, २०० सय मेगावाट नेपालले निःशुल्क पाउनेबाट संखुवासभावासीलाई २५ प्रतिशत नाफा प्रत्येक महिना पाउनुपर्छ।’

उनले भोलि नै मोदी र ओलीले संयुक्त रुपमा उक्त परियोजनाको ‘स्विच–अन’ गर्ने कार्यक्रम रहेकोले आफूपनि भोलि संखुवासभा अवस्थित् ड्याम्पस्थल पुग्ने जनाए। उनले भने,‘हिजाको दिनमा परियोजना गुम्दै गर्दा सम्पूर्ण संखुवासभावासी दुःखी थिए, तर अब बन्ने भएकोले खुशी छन्।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ