arrow

उत्तर कोरियालाई अमेरिकाको प्रस्तावः परमाणु हतियार त्यागे पुनर्संरचनामा सघाउने 

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
america-north-korea.jpg

काठमाडौं । अमेरिकाले उत्तर कोरियाको अर्थतन्त्रमा सुधारको लागि सहयोगको प्रस्ताव गरेको छ । अमेरिकाले यदि उत्तर कोरियाले परमाणु  हतियारको कार्यक्रम त्याग गरेको खण्डमा उसको आर्थिक सुधारको लागि सहयोग गर्न सकिने बताएको हो । अमेरिकी विदेशीमन्त्री माइक पोपेओले शुक्रबार सञ्चारमाध्यमहरुसँग कुरा गर्दै दक्षिण कोरियासँगको सहकार्यमा अमेरिकाले उत्तर कोरियाको आर्थिक समृद्धिमा सहयोग गर्नसक्ने बताएका हुन् । 

हालसालै उत्तर कोरियाको भ्रमणबाट फर्किएका पोम्पेओले उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनसँगको वार्ता निकै सकारात्मक रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किमको बीचमा आगामी जुन १२ मा सिँगापुरमा भेटवार्ता हुने कार्यतालिका तय भएको छ । उत्तर कोरिया र अमेरिकी नेताहरु एकआपसमा अपमान तथा होच्याउने किसिमका व्यवहारहरु गर्दै आइरहेको अवस्थामा गएको अवस्थामा गएको अप्रिलमा दक्षिण कोरियासँगको उत्तरको सम्बन्धमा आएको सुधारपछि भने उनीहरु ऐतिहासिल वार्ताको लागि तयार भएका हुन् । 

पोम्पेओले शुक्रबार उत्तर कोरियाका नेताले अहिले उत्तर कोरियाको लागि सही मार्गको चयन गरेको बताएका छन् । यसले आगामी दिनमा उत्तर कोरियालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउने उनको भनाइ रहेको छ । शुक्रबार दक्षिण कोरियन विदेशमन्त्री काङ क्युङ–व्हासँगको वार्तापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

पोम्पेओले उत्तर कोरियालाई न्युक्लियर कार्यक्रम रद्द गर्नको लागि कडा नीति अख्तियार गर्न आग्रह गरेका छन् । पोम्पेओको उत्तर कोरिया भ्रमणको क्रममा तीनजना अमेरिकी नागरिकहरु रिहा भएका थिए । 

आर्थिक तुलनामा दक्षिण र उत्तर कोरिया 
आर्थिक हिसाबमा हेर्ने हो भने उत्तर कोरिया र दक्षिण कोरियाको आर्थिक अवस्था निकै भिन्न किसिमको रहेको देखिन्छ  । सन् १९५३ को कोरिया युद्धपछि दक्षिण कोरिया अमेरिकाको सहयात्री मुलुक बन्न पुग्यो । जसको कारण उसले अमेरिकाको पुँजीवादी नीति अख्तियार गर्यो । जसको कारण अहिले एसियामा दक्षिण कोरिया आर्थिक हिसाबमा अगाडि नै रहेको छ । 

सन् १९६० को दशकमा सरकारको स्वामित्वमा रहेका औद्योगिक क्षेत्रहरुको विस्तारको कारण पनि दक्षिण कोरियाको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधार आएको देखिएको हो । यो समयमा दक्षिण कोरियामा सामसुङ र हुण्डाईजस्ता कम्पनीहरु स्थापना भएका थिए । 
जनसंख्याको हिसाबमा पनि दक्षिण कोरिया उत्तर कोरियाभन्दा अगाडि रहेको छ । 

दक्षिण कोरियाको जनसंख्या पाँच करोड १२ लाख रहेको छ भने उत्तर कोरियाको जनसंख्या दुई करोड ५४ लाख रहेको छ । दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १४ खर्ब अमेरिकी डलरबराबरको रहेकोमा उत्तर कोरिया भने निकै पछाडि रहेको छ । उत्तर कोरियाको जीडीपी २० अर्ब डलरभन्दा पनि कम रहेको छ । 

दक्षिण कोरियाको औसत आयु ८२ वर्षको रहेको छ भने उत्तर कोरियाको औसत आयु ७० वर्षको रहेको छ । उत्तर कोरियाका अधिकांश मानिसहरु गरिबीको चपेटामा रहेका छन् । उत्तर कोरियाका नेता किम जोन उन आफ्नो मुलुकको महत्वपूर्ण विकासको नीतिमा अघि बढिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ