विवेकशील साझाले गर्यो विरोध प्रदर्शन, बेलुनमा व्यानर उडाएर नाकावन्दीको विरोध (भिडियो)
ओली सरकार हेरेको हेर्यै
प्रकाशित २०७५ वैशाख २९ शनिबार
358
Shares
काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अधिनायकवादी भएको निष्कर्षमा पुगेको विवेकशिल साझाले सरकार विरुद्ध शनिवार प्रदर्शन गरेको छ।
शान्तिपूर्ण विरोधको संविधान प्रदत्त अधिकारलाई खोसेको ओली सरकार अधिनायकवादी भएको निष्कर्ष निकालेको विवेकशिल साझाले पार्टी केन्द्रीय कार्यालयबाट नाकावन्दी विर्सेका छैनौ भन्ने व्यानर बेलुनसँगै उडाएर विरोध गरेको हो। मोदी नेपाल भ्रमणमा रहेकै वखत विवेकशीलको विरोध कार्यक्रम भएको हो। शुक्रवार प्रहरीले विवेकशील साझाको कार्यालयमै गएर हस्तक्षेप गरेपनि शनिवार भने हस्तक्षेप गरेन। बेलुन उडाएको प्रहरी प्रशासनले पनि हेर्न मात्र सक्यो।
विवेकशिल साझाले उपत्यकाभित्र रहेका कार्यकर्ता शुभेच्छुकहरुलाई शनिवार विहान विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा वखुण्डोलमा बोलाएको थियो।
पार्टी कार्यालयमा शुक्रवार भएको प्रहरी हस्तक्षेपको विरोधमा शान्तिपूर्ण विरोधका निम्ति शनिवार बिहान ११ बजे केन्द्रीय कार्यालय, बखुण्डोलमा उपस्थित हुन आह्वान गरेसँगै प्लेकार्ड प्रदर्शन तथा वेलुनमा व्यानर उडाएर विरोध गरिएको पार्टीका विदेश विभाग प्रमुख दिनेश प्रसाइले जानकारी दिए।
काठमाडौं उपत्यका बाहिर भने आफ्नो इकाईसंग समन्वयन गरेर आफ्नो टोल, वडा, जिल्ला, प्रदेशको प्रमुख चोकमा ११ बजे प्रदर्शन गर्न समेत कार्यकर्ताहरुमा आह्वान गरिएको प्रसाइले बताए।
आफूहरुको प्रदर्शन शान्तिपूर्ण हुने तथा दुई नारा मात्र प्लेकार्डमा रहेको सो पाार्टीले जनाएको छ। ' मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ।' र 'अधिनायकवादी ओली सरकार, होसियार ' मात्र लेखिएको प्लेकार्ड प्रदर्शनमा रहेको प्रसाइले बताए।
विरोध प्रदर्शनमा विवेकशील साझाका नेतृत्व तहका रविन्द्र मिश्र, उज्वल थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
काठमाडौं वाहिर पनि शान्तिपूर्ण रुपमा प्रदर्शन भएपनि अधिकांश ठाउँमा प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेको प्रसाइले बताए। बुटवलको कार्यक्रममा प्रहरीले प्रदर्शनकारीको व्यानर खोसेको उनले जानकारी दिए।
शान्तिपूर्ण रुपमा विवेकशिल साझा पार्टीले गरेको व्यानर हटाउने क्रममा प्रहरीले पार्टी कार्यालयमा गरेको हस्तक्षेपको विरोधमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गर्दै सरकारको अधिनायकवादी चरित्र उदाङगो भएको बताएका छन्।