arrow

अमेरिकाले उत्तर कोरियालाई सघाउने

logo
प्रकाशित २०७५ वैशाख २९ शनिबार
trump-kim-summit-2018.jpg

वासिङटन। आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ।

हालै उत्तर कोरियाको भ्रमण गरेर फर्किनुभएका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ। यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गर्नु भएको थियो। यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो।

“यदि किमले सही बाटो रोज्नुभयो भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ,” वासिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि माइकले भनेका थिए। माइकले उत्तर कोरियालाई छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्नसमेत आग्रह गरे। अमेरिकी विदेशमन्त्री माइक अकस्मात गत बुधबार उत्तर कोरिया पुग्नुभएको बेला उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा गरेका थिए।

अमेरिकी विदेशमन्त्रीका रूपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उनी बुधबार त्यहाँ पुगेका थिए। उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन्। तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन्।

ती अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर नियन्त्रणमा लिने गरेको छ। उनीहरूलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ