राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन : प्रवक्ता शर्मा
प्रकाशित २०७५ वैशाख २९ शनिबार
242
Shares
दमक। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताए। उनले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गरे।
झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले आज आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताए।
उनले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त नसक्ने हुँदा युवाले असल राजनीतिक संस्कारलाई जोड दिनुपर्छ दिए। प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रुपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राखे।
अन्तरसंवादमा सहभागी युवाले युवा नेता शर्मासँग विभिन्न जिज्ञासासमेत राखेको प्रतिष्ठानका जिल्ला अध्यक्ष नवीन ढुंगानाले बताए। रासस