arrow

रातो मच्छिन्द्रनाथको  भोटो जात्रा मनाइदै : देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई भोटो देखाउने

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
bhoto-jatra.JPG

काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको यस बर्षको अन्तिम जात्रा भोटो जात्रा आइतबार मनाइदैछ। रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा पुगेको चौथो दिनमा भोटो देखाउने परम्परम अनुसार आज भोटो जात्रा देखाइन लागेको हो। जावलाखेलमा रथ पुगेपछि छवासकामुनी पिठमा भात छर्न ल्याउने चलन छ। जा ह्वला ख्य भनेको भात छर्ने मैदान हो। जुन अपभ्रंस भई जावलाखेल हुन गएको हो। त्यसैले जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ। 

बिभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको साइत हेर्ने ज्योतिष खलकका सदस्य दैवज्ञ किर्तिमदन जोशीका अनुसार देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई  चारै कुनाबाट भोटो देखाउने गरिएको हो।  साथै यो भोटो उपत्यकामा मच्छिन्द्रनाथ भित्रयाउने बन्धुदत्त बज्राचार्य, ललितज्यापु, राजा नरेन्द्रदेब  लगायत  कर्कोटक नागराजलाई पनि देखाउने परम्परा छ।

रथबाट चारै दिशामा तीन÷तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ। ललितपुरको जावलाखेलमा हुने भोटोजात्राको सरकार प्रमुख  राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्टपति नन्दबहादुर पुन तथा प्रधानमन्त्री केपी ओली लगायतका उच्च पदस्थ व्यक्तिहरुले समेत अवलोकन गर्नेछन्। भोटो देखाउने जात्राको अवलोकन गर्न पाटनकी कुमारीलाइ ल्याउने गरिन्छ साथै जात्रा हेर्न उपत्यकाका तीनै शहरका सर्वसाधारणको ठूलो संख्यामा भीड लाग्ने गर्दछ।

भोटो जात्रा अवलोकनका लागि आज काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। जावलाखेलमा भोटो देखाएपछि मच्छिन्द्रनाथको  जात्रा सम्पन्न हुन्छ। भोटो जात्रा समापन कै दिन  मच्छिन्द्रनाथलाई जावलाखेलबाट बुंङ्मतिसम्म खटमै राखेर लाने परम्परा छ। यो जात्रा समान्यतः वैशाख महिनामा शुरु भएर दुई तीन महिनासम्म मनाइने भएपनि यसपाली एकै महिनामा सम्पन्न हुने भएको छ। आउने जेठ २ गतेदेखि मलमास परेकाले एकै महिनामा जात्रा समापन गर्न लागिएको हो।  

भोटो जात्राको किबंदन्ती 
कथनअनुसार नाग राजा कर्कोटककी श्रीमतीलाई आँखाको रोग लागेपछि उपचारका लागि नागले वैद्य काम गर्दै आएका एक किसानलाई बोलाए। नागले जसरी भए पनि आफनी श्रीमतीको रोग निको पार्नैपर्ने नपारे अनिष्ट हुने बताएपछि वैद्य सङ्कटमा परे। 

उनले नागकी श्रीमतीको रोग नै पत्ता लगाउन नसकेपछि हात माड्दै बसिरहे। हात माडेका हुनाले यसबाट मयल निस्कियो। उनले त्यही मयललाई औषधि भनेर नागलाई दिए। त्यो औषधिको प्रयोगपछि नागकी श्रीमतीको रोग निको भयो।

रोग निको पारिदिएपछि नाग राजाले खुशी हुँदै आफूले लगाइराखेको रत्नजडित भोटो किसानलाई दिए। किसानले सधै नै त्यो भोटो लगाएर हिँड्थे। एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्दा एउटा भूतले भोटो चोरेर लगेछ। केही  समयपछि भएको रातो मच्छिन्द्रनाथको जात्रामा भूत र किसान पनि आएका रहेछन्। जात्रामा भूतले त्यो भोटो लगाएर आएको थियो।

भोटो देखेपछि किसान र भूतबीच भोटोको स्वामित्वबारे भएको विवादले झगडाको रुप लियो। केही गरी पनि झगडा साम्य नभएपछि निर्णयका लागि उनीहरु मच्छिन्द्रनाथ कहाँ पुगे। मच्छिन्द्रनाथले जसले प्रमाण ल्याउनसक्छ उसैलाई दिने भन्ने निर्णय गरे। तर दुवैले प्रमाण जुटाउन नसकेपछि भोटो मच्छिन्द्रनाथले नै राखे। त्यहि बेलादेखि यो कसको भोटो हो भन्ने साङ्केतिक प्रश्नमा चारैतर्फ भोटो देखाउने चलन रहेको छ।

मच्छिन्द्रनाथको महास्नानबाट शुरु हुने जात्रा भोटो देखाएसँगै टुङ्गिन्छ। रातो मच्छिन्द्रनाथलाई लोकेश्वर, बुंगद्य,  करुणामयको रुपमा हिन्दू र बौद्धधर्मावलम्बीले समान रुपमा पूजाआजा गर्ने परम्परा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ