मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले पार्यो निष्क्रिय
प्रकाशित २०७५ वैशाख ३० आइतबार
311
Shares
दमौली। तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा आज राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। बिहान ५ बजे पुलमा फेला परेको बम नेपाली सेनाको श्री नं ३ बाहिनी खैरेनीटारबाट आएको बम निष्क्रिय टोलीले ९ बजे निष्क्रिय पारेको हो।
सेनाको उक्त टोली निकै ढिला गरी त्यहाँ पुग्दा धेरै समय त्यस क्षेत्रको जनजीवन त्रसित बनेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी सुनिल मल्लले पे्रसर कुकर बम सेनाले निष्क्रिय पारेको बताए। बम निष्क्रिय पार्दा ठूलो आवाज आएको थियो।
प्रेसर कुकरभित्र डेटोनेटर ३३ र बम पड्काउन सजिलो हुने सेतो पाउडर हालेर राखिएको जानकारी उनले बताए। पृथ्वी राजमार्ग भएर चल्ने सवारी साधनका यात्रुसमेत पुलमा बम भेटिएपछि त्रसित भएर आवतजावत गरेका थिए।
नेपाली सेनाले बैरेनी जाने बाटामा लगेर उक्त बम निष्क्रिय पारेको हो। प्रहरीले कडा सुरक्षाबीच एकतर्फी यातायातलाई निरन्तरता दिएको थियो। नेकपाका कार्यकर्ताले शनिबार राति नै सो ठाउँमा बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। रासस