arrow

मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि पोख्दा के गलत गरे र ? : कर्ण 

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
laxman-karna-rjp.jpg

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका सचिव भीम आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सफल भएको प्रतिक्रिया दिएका छन्। यद्धपी उनले पूर्ण सफल पनि आफूले नभन्ने प्रतिक्रिया दिए। आचार्यले भने,‘उहाँको भ्रमण सफल भयो, तर पूर्ण सफल भन्न सकिँदैन, यसको लागि त समय कुर्नैपर्छ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आचार्यले मोदी तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै भने,‘उहाँ पहिलोपटक नेपाल भ्रमणमा आउँदा धेरै ठूलो उत्साह थियो, उहाँको छिमेकी पहिलो नीति पनि धेरै लोकप्रिय थियो, त्यसपछिको घट्नाक्रम हामीलाई थाहै छ।’

आयोजित साक्षात्कारमा उनले मोदीको भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको भनेर दुवै तर्फबाट भनिएको बताउँदै अब त्यो व्यवहारमा हेर्न जरुरी रहेको स्पष्ट पारे । उनले अरुण तेस्रोको शिलान्यास हुनु नौलो कुरा नभएको प्रतिक्रिया दिए । उनले भने,‘यो परियोजना करिब चार वर्ष अघि नै नेपालको लगानी बोर्ड र भारतको सत्तलज कम्पनीबीच सम्झौता भएको कुरा हो।’ भारत र नेपालबीच धेरै महत्वपूर्ण सहमति तथा सम्झौता भएपनि ती कार्यान्वयन नहुनु दुःखद् कुरा भएको उनको गुनासो छ ।

नेता आचार्यले हुलाकी राजमार्ग, पञ्चेश्वर परियोजना, सिमा विवाद, बाँध लगायतमा भएका समझदारीहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै उनले काठमाडौं–रक्सौल रेलको कुरापनि अब परिणाममा देखिनुपर्ने बताए । त्यस्तै कोशी तथा गण्डक सम्झौता भएको यतिका वर्ष वित्दापनि अहिलेसम्म जनताले पाउनुपर्ने सुविधा नपाएकोमा उनको गुनासो थियो । उनले हरेक पटक नयाँ–नयाँ काम गर्ने तर कार्यान्वयन नहुने पक्षलाई सच्याएर लैजानुपर्नेमा जोड दिए ।

उनले भारतले यदि नेपालसँगको सम्बन्धमा कोर्स करेक्सन गरेर जान चाहेको हो भने त्यो अब व्यवहारमा देखिनुपर्ने बताए । मोदीको भ्रमणले सकारात्मक सन्देश दिएकोले अहिले भएका द्धिपक्षीय भेटवार्ताका प्रयत्नहरु राम्रो रहेको र सोही अनुसार अब नतिजा आउनुपर्ने उनको भनाई छ । 

नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेकोले एक अर्काले पारस्परिक लाभ र समानताका आधारमा सम्बन्धलाई अघि बढाउनुपर्ने बताए। फरक प्रसँगमा उनले मोदीको नागरिक अभिन्दनको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अपरिपक्व अभिव्यक्ति दिएको टिप्पणी गरे। उनले भने,“यो उहाँको इम्याच्योर्ड अभिव्यक्ति हो, नेपालमा समस्या छ भनेर अरुलाई पोल लगाएको जस्तो भयो, एक्स्पोज गर्नुभयो, संविधानले हिमाल, पहाड र तराई सबैका जनतालाई समान अधिकार दिएको छ।”

प्रधानमन्त्री ओलीले जनकपुरको जानकी मन्दिरमा पहिरिएको पहिरन मिथिलाको पोशाक भएकोले यसमा कसैले अनावश्यक टिप्पणी गर्नु र आरोप लगाउनुको अर्थ नहुने उनको जिकिर छ। फरक प्रसँगमा नेता आचार्यले एमाले र माओवादी केन्द्रबीच एकता भएरै छाड्ने विश्वास दिलाए। उनले भने,“अहिले एकताप्रतिको विश्वास कायमै छ, त्यसैले एकता हुन्छ।”

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई आफूहरुले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिए। यद्धपी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै मोदीको भ्रमण हुन आवश्यक थिएन भन्ने उनको स्पष्टोक्ति थियो। 

नेता खड्काले मोदीको नेपाल भ्रमण यो तेस्रोपटक भएकोले भ्रमण आदानप्रदान हुनु सकारात्मक भएको बताउँदै आगामी दिनमा यसले कस्तो परिणाम दिन्छ त्यो भने हेर्न बाँकी रहेको बताए। उनले मोदीले व्यक्तिगत रुपमा सम्बन्ध सुधार्नतर्फ लागेको आभाष भएको टिप्पणी गरे। 

मोदीको शैली नै पहिले व्यक्तिगत सम्बन्ध सुधार गर्ने अनि दुई देशबीचको सम्बन्धलाई बलियो बनाउने रहेको उनको भनाई छ। उनले थपे,“मोदीजीले आफू पहिलो पटक निर्वाचित प्रधानमन्त्री भएपछि सार्क राष्ट्र प्रमुखहरुलाई सपथग्रहणमा बोलाउनुभयो, सन् २०१५ को डिसेम्बरमा पाकिस्तानी प्रधानमन्त्री (आफ्ना समकक्षी) नवाज सरिफलाई जन्मदिनको शुभकामना दिन अफ्गानिस्तानबाट सिधै लाहोर पुगेका थिए, त्यस्तै ब्रिक्समा पुटिन, सि जिनपिङलाई मोदी जवारी कोट दिए।”

त्यतिमात्रै नभएर मोदीले पछिल्लोपटक चीनीयाँ राष्ट्रपतिसँग एक्लाएक्लै अनौपचारिक भेटवार्ता गर्नुपनि उनको त्यो व्यक्तिगत सम्बन्ध सुधार्ने आभाष नै भएको खड्काको भनाई छ। 

नेपालको सन्दर्भमा पनि मोदीले मंसिरको अन्तिममा निर्वाचन सम्पन्न भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित हुनु अघि नै बधाई दिएको र लगत्तै विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउनु व्यक्तिगत सम्बन्ध सुधारको अभ्यास भएको उनले जनाए । उनले भने,“प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले भारत भ्रमणको निम्तो दिनुभयो, र हाम्रो प्रम चीनमा भएको बोआवा फोरम छोडेर भारत भ्रमणमा जानुभयो।”

मोदी आगामी सन् २०१९ को निर्वाचपछि प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाल आएको भए राम्रो हुने थियो भन्ने उनको तर्क छ । उनले भने,“भ्रमणहरु आदानप्रदान भैरहन्छन, तर यसको सामाजिक, आर्थिक तथा अन्य रुपमा सकारात्मक असरहरु पर्नुपर्यो, त्यो ठूलो कुरा हो।”
मोदीले यसपटकको नेपाल भ्रमण जनकपुरबाट सुरु गर्दा उनको मधेशप्रतिको अप्रत्यक्ष सद्भाव छ भन्ने कुराको पुष्टि गरेको नेता खड्काको भनाई छ । नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै यसलाई आपसी हितमा उपयोग गर्दै लैजानुपर्नेमा उनको जोड छ । 

नेता खड्काले अहिलेको सरकारले सिमा विवाद, भारतीय सुरक्षाकर्मीद्धारा सिमामा हुने ज्यादती, भारतसँग भएको व्यापार घाटा लगायतका समस्याहरुको समाधान गरेको भए धेरै राम्रो हुनेथियो भन्ने धारणा राखे । उनले भने,“पञ्चेश्वरको डिपिआर यही मौकामा गर्न पाएको भए राम्रो हुन्थ्यो।”

उनले अब नेपालको कुटनीतिक क्षमता टेष्ट हुने बेला आएको पनि बताए। उनले भने,“मोदी र सिबीच रणनैतिक मुद्दामा समान धारणा बनाएर जाने सहमति भएको छ, टा«न्स हिमालय ईकोनोमिक कोरिडोरबाट नेपालले फाईदा लिनसक्ने क्षमता बनाउनुपर्छ, चीन र भारत दुवैलाई कन्भिन्स गरेर हाम्रो हितमा ल्याउनुपर्छ।”

भ्रमणको दौरान २ नम्बर प्रदेशको मुख्यमन्त्री लालबाबु राउतले संविधानप्रति राखेको धारणामा उनको असहमति थियो । खड्काले भने,“यो स्वाभिमानी नेपालीले बोल्ने कुरा होईन।” मोदीको भ्रमणका क्रममा सुरक्षा नाममा भारतीय सेना खुल्लम खुल्ला प्रवेश गरेको बताउँदै उनले आफूहरु भ्रमणमा जाँदा कागजजात माँग्ने गरेको स्मरण गराए।

उनले थपे,“यदि नेपाली कांग्रेसको सरकार भएको भए र यी काम गरेको भए अहिले कांग्रेस लम्पसार पर्यो भनेर सडकमा आन्दोलन हुन्थ्यो र आरोपहरु लगाईन्थ्यो, तर हामी उत्ताउला भएर व्यवहार देखाउँदैनौं।”

राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले नेपालसँग सम्बन्ध सुधार गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बताए। उनले भने,“मोदीजीले आफू प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा नेपाल आएको भन्नुभएको थियो, र उहाँ जनकपुर आउनुभयो, मुक्तिनाथ जानुभयो, त्यसपछि पशुपतिनाथको दर्शन गर्नुभयो।” 

अध्यक्ष राणाले मोदीले तीन पटकसम्म नेपालको भ्रमण गर्नुले नै नेपालसँग सम्बन्ध सुधार गर्न चाहेको स्पष्ट हुने बताए । उनले भने,“अहिले मोदीको नेपाल भ्रमणको प्राथमिकता भनेको नै द्धिपक्षीय सम्बन्ध सुधार गर्नु हो।” मोदीले बेलैमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणमा पठाएको र आफू पनि बेलैमा नेपाल आएकोले नेपाल र भारतबीचको सम्बन्ध सुधार्न सफल भएको राणाको दाबी छ। उनले भने,“नेपालले पनि हिन्तुस्तानसँग राम्रो सम्बन्ध राख्नुपर्छ।” जोसुकै क्षमतावान प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध बिग्रिन नदिने उनको भनाई छ। मोदीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्ध राम्रो भएको राणाले जनाए । मोदीको भ्रमण सफल भएको उनको दाबी छ । 
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले मोदीको भ्रमणको क्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्रीले बोलेको कुरा पार्टी र प्रदेश सरकारको धारणा बमोजिम नै रहेको स्पष्ट पारेका छन् । 

५ दर्जन व्यक्तिको लाशमा टेकेर र संविधान सभामा कफ्र्यु लगाएर संविधान जारी गर्नेहरुले प्रत्येकपटक विश्कै उत्कृष्ट संविधान भनेर भन्ने गरेको बताउँदै नेता श्रेष्ठले भने,“उहाँहरुले संविधानलाई उत्कृष्ट भन्नुहुन्छ, हामी निकृष्ट भन्छौं।” वर्तमान संविधान संघीयताको सवालमा विश्वमै कमजोर भएको उनको जिकिर छ ।

अहिले संघीय शासन अनुकुल काम नभएकोपनि नेता श्रेष्ठको गुनासो छ । उनले भने,“मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन।”
त्यस्तै उनले जनकपुरमा मोदी र ओलीको सम्बोधनको क्रममा राखिएको झण्डाबारेको विवादमा पनि त्यो कमजोरी परराष्ट्र मन्त्रालयको भएको टिप्प्णी गरे । उनले भने,“संघीय सरकारको कमजोरी हो, परराष्ट्रमन्त्रीले आफ्नो प्रतिनिधि पठाएका छन्, उनीहरुले हेर्नुपर्दैन्, के तिनीहरुलाई त्यहाँ लाटालाई पापा देखाउन पठाएको हो र ?”

उनले मोदीको दुई दिने राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मकता ल्याएको भएपनि खासै उपलब्धिमूलक नभएको टिप्पणी गरे । उनले थपे,“रेलमार्ग, जलमार्ग र कृषिका विषयमा नयाँ केही भएन, यी विषयमा त रक्सी उही बोटलमात्रै नयाँ भनेझैं भयो।”

राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेशका मुख्यमन्त्रीले संविधानप्रति असन्तुष्टि राखेर बोल्दा के गलत गरे भन्दै प्रतिप्रश्न गरेका छन् । उनले भने,“हामी त चुनावमा पनि संविधानको विरोध गरेर नै सहभागी भएको हो नि, जनताले हामीलाई राम्रो पोजिशन बनाएर पठाईदिए, संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ? जुन कुराको लागि हामी अहिलेसम्मपनि लडिरहेका छौं।” मुख्यमन्त्रीले भएको कुरा बोलेको उनको दाबी थियो । 

कर्णले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले आँफै भारतले नाकाबन्दी लगाएको भनेर हल्ला गरेपनि अहिले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे संसदमा घण्टौंघण्टा भाषण गरेर भ्रमण सफल र फलदायी भएको भनेर बोलेको बताए । 

हिजो संविधानको विरोध गरेर आफूहरु नाकामा धर्ना बस्दा भारतले नाकाबन्दी लगायो भनेको स्मरण गराउँदै नेता कर्णले भने,“अहिले उहाँहरुले नै मोदीजीलाई वार्म वेलकम गर्नुभयो, जानकी मन्दिरमा त एउटै ड्रेस लगाएर दर्शन गर्नुभयो।”

मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको कर्णको विश्वास छ । उनले भने,“मोदीजीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन तथा विशेष पूजा गर्नुभयो, यसले नेपालको धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुगेको छ, अब भारतबाट २÷४ प्रतिशतमात्रै हिन्दू पर्यटकहरु ल्याउन सकियो भने नेपालको पर्यटन क्षेत्रको ठूलो विकास हुन्छ।”

मोदीको भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीद्धारा रामायण सर्किटको उद्धघाटन् भएकोले अयोध्यादेखि जनकपुरसम्म बस सञ्चालन हुनु जनकपुरको विकासमा ठूलो टेवा पुगेको उनको विश्वास छ । उनले भने,“नेपाल र भारतबीचमा विशेष सम्बन्ध छ, अब यो बस सेवा सञ्चालनसँगै धार्मिक पर्यटकहरु आउनेजाने क्रम हुन्छ, यो हाम्रो लागि खुशीको कुरा हो।“

फरक प्रसँगमा उनले प्रदेश सरकारमा वाम गठबन्धनले आफूहरुलाई सहयोग गरेकोले आफूहरुले पनि संघमा सहयोग गरेको र संविधान संशोधन गर्छौं भनेकोले संघमा सरकारलाई समर्थन गरेकोले प्रदेशमा वाम गठबन्धनको समर्थन रहुञ्जेलसम्म सरकारलाई समर्थन गर्ने स्पष्ट पारे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ