धनगढी। गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ। झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो।
यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन्। घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ।
प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ। आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ।
यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्यालमा १००, मसुरियामा १३, वर्दगोरिया र भजनीमा एक-एक घर तथा एक विद्यालय, धनगढीमा ३८ घर र एक विद्यालयको छाना उडाइ क्षति पुर्याएको छ।
यस्तै धनगढीको विशालनगर र मोहनपुर क्षेत्रका तीन वटा कुखुरा फार्मका सात हजारभन्दा बढी कुखुराका चल्ला र ठूलो संख्याका ब्रोइलर कुखुरा नष्ट भएका छन्। आँधीले रुख ढलाएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय परिसरका फलामे बारमा क्षति पुर्याएको छ।
वर्षासहितको आँधीबेहरीले धनगढीमा रहेको धनगढी एफएम र जनआवाजको टावर ढलेर क्षति पुगेपछि एफएमको प्रशारण बन्द भएको छ। नेपाल विद्युत् प्राधिकरण धनगढीका अनुसार, आँधीबेहरीले धनगढी र आसपासका क्षेत्रमा झण्डै ४० लाख मूल्य बराबरका १८० वटा बिजुलीका खम्बा र तार चुँडिएर क्षति पुगेको जानकारी दिए। विद्युत्मा पुगेको क्षतिसँगै जिल्लामा गए रातिदेखि नै विद्युत आपूर्ति बन्द भएको छ।
यस्तै गएरातिदेखि नै अवरुद्ध टेलिफोन र मोबाइल फोन सेवा अझैसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन। आँधीबेहरीले रुख र हाँगा खसेरअवरुद्ध भएका केही क्षेत्रका सडकमा दिउँसोसम्म आवागमन नियमित बनाइएको छ।
आँधीबेहरीले आँप लिची केरा खेती पनि नष्ट भएको छ। तीन दशकयताको सबैभन्दा ठूलो आँधीबेहरी भएको महसुस गरिएको स्थानीय चेतराज जोशीले बताए। क्षतिको विस्तृत विवरण आउन भने बाँकी रहेको छ। रासस