arrow

साथी मारे विद्यालय बन्द हुने भन्दै सैनिक महाविद्यालयमा निर्घात कुटपिट

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
bijeswori-school.jpg

चितवन । आफ्नै साथीको हत्या गरेर विद्यालय बन्द गराउने उद्देश्यका साथ यहाँको सैनिक महाविद्यालयमा एक विद्यार्थीलाई निर्घात कुटपिट गरिएको छ । सैनिक आवासीय महाविद्यालय खैरहनी नगरपालिकाको पर्सास्थित आवासमा शनिबार बिहान ३ बजे कुटपिटको घटना भएको हो ।

आवासमा बसेका आफ्नै साथीहरुले भरतपुर महानगरपालिका वडा नं १० निवासी सिर्जना पौडेल लामिछानेका छोरा १४ वर्षीय श्रीनव लामिछानेलाई मार्ने उद्देश्यका साथ कुटपिट गरेका हुन् । पीडित बालककी आमा सिर्जनाका अनुसार, छोराको दायाँ आँखाको छेउमा गहिरो चोट लागेको छ भने आँखामुनिको हड्डी भाँचिएको छ । घाँटीमा हातले थिच्दा नील डाम परेको छ भने दुवै आँखामा रगत जमेको छ ।

पीडित बालकका अनुसार गहिरो घाउका कारण नाक र मुखबाट समय समयमा रगत बग्ने समस्या देखिएको छ ।
सिर्जनाका अनुसार बालकलाई भरतपुरको मनकामना अस्पताल र भरतपुर अस्पतालमा सिटी स्क्यानसहित स्वास्थ्य परीक्षणपछि आज प्रहरीमा उजुरी दर्ता गरिँदैछ । उनले भनिन्  – “घटना भएपछि विद्यालयले घटना लुकाउन समयमै जानकारी पनि दिएन ।” अन्य अभिभावकबाट सूचना पाएपछि आफूले शनिबार दिउँसोमात्रै छोरालाई भेटेर घर ल्याएको र उपचार थालेको उनले बताइन् ।  

कक्षा ९ मा अध्ययनरत श्रीनवले घटना विवरण सुनाउँदै भने, “बिहान ३ बजेतिर साथी अनिस श्रेष्ठले पिसाब फेर्न जाउँ भन्यो । सँगै म शौचालय गएँ । सधैँ नयाँ साथी क्रिस थापाले शौचालय जाउँ भन्थ्यो, त्यो दिन अनिसले भन्यो । रिवाज रेग्मी शौचालयको ढोकामा लुकेर बसेको रहेछ । मैले रिवाजलाई देख्नेबित्तिकै झस्किएँ । यहाँ किन लुकेको भनेँ ।” घटना सुनाउँदै श्रीनवले अगाडि भने, “अर्को साथी क्रिस थापाले पछाडि आएर मेरो घाँटी न्याँक्यो र भित्तामा ठोक्काएर न्याँकिरह्यो, म चिच्याइरहेँ । मलाई धारोको टुटीमा पनि ठोक्याए, धारो भाँच्चियो । त्यतिबेला अरु दुईजना, सुयोग श्रेष्ठ र रिजन श्रेष्ठ पिसाब फेर्न आए, क्रिसले उनीहरुले चुप लाग, उता जा भन्यो । त्यतिबेलै म चिच्याएको मेरो बेड पार्टनर सुयोग खनालले सुनेछ । उसले पालेलाई भनेछ । पालेदाइ आएपछि उनीहरु भागे ।”

क्रिस थापा भन्ने विद्यार्थी कक्षा ६ मा पनि त्यही विद्यालयमा अध्ययन गरेको तर विभिन्न बहाना पारी घर जाने गरेको श्रीनवले सुनाए । त्यसपछि बीचमा उक्त विद्यालय छोडेर अन्यत्र पढ्न गएका क्रिस पुनः कक्षा ९ मा सो विद्यालयमा आएको उनले बताए ।  क्रिसले एकजना साथी मारेमा विद्यालय बन्द हुने र यहाँ पढ्न र बस्न नपर्ने बताउँदै आएको श्रीनवले बताए ।

घटनापछि श्रीनवलाई बिहान ३:४५ बजे स्थानीय चौधरी पोलिक्लिनिकमा उपचार गरिएको श्रीनवले बताए । बिहान १० बजेतिर विद्यालयका निमित्त प्राचार्य भविलाल न्यूरेले पीडित बालकका बुबा नवराज लामिछानेलाई टेलिफोन गरेको तर घटनाको विषयमा केही नबताएको लामिछानेले बताए । पीडित बालकका परिवारले जघन्य घटना हुँदासमेत विद्यालयले लुकाएको आरोप लगाएका छन् ।

विद्यालयका निमित्त प्राचार्य न्यूरेले टेलिफोन उठाएनन् भने विद्यालय हेर्र्दै आएका मेजर प्रकाश अधिकारीले घटनाका बारेमा बोल्न नमिल्ने बताए । सो विषयमा जानकारी लिन खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले घटनामा संलग्न तीनजना विद्यार्थीलाई निलम्बन गरिएको बताए । उनले पीडित विद्यार्थी आराम गरिरहेको जानकारी दिए ।

कक्षा ६ भन्दामाथि मात्रै पढाइ हुने सो विद्यालयमा छात्रलाई अनिवार्य आवासमा राख्नुपर्ने व्यवस्था छ भने छात्रालाई घरबाटै आउने जाने व्यवस्था गरिएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ