arrow

शंकराचार्यको नागरिक अभिनन्दनमा प्रधानमन्त्रीले भने - 'कुनै धर्मप्रति अनास्था राख्ने काम गर्दिन'

logo
प्रकाशित २०७५ जेठ १ मंगलबार
sankharacharya.JPG

काठमाडौँ । जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन गराइएको छ । नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै आज टुँडिखेलमा आयोजित समारोहमा नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देवभूमि, वेदभूमि, तपोभूमि नेपालबाट विश्व शान्तिको सन्देश फैलाउन चाहेको बताए । “जनताको पेट नभरी आवासको सुविधा नदिई विश्व शान्ति फैल्याउन सकिन्न, दुनियाँ अन्धकारमा भएका बेला हाम्रा पूर्खा ऋषिमुनि दर्शन बाँड्थे, अहिले तिनै ऋषिमुनिका धेरै सन्तान निरक्षर छन्, तिनलाई साक्षर बनाउने अभियानमा म लागेको छु”, उनले भने।

प्रधानमन्त्रीको कुर्सीमा बसेर कुनै धर्मप्रति अनास्था राख्ने काम नगर्ने प्रतिबद्धता जनाउनु हुँदै ओलीले सबै धर्मावलम्बीबीच समदृष्टि र समभाव राख्ने बताए । “मेरो निष्ठा जनता र देशप्रति छ, म सबै धर्मावलम्बीको मत पाएर चुनाव जितेको मानिस कुनै धर्म श्रेष्ठ छ भने मन जितेर व्यवहारमा देखाउनुपर्छ, नेपाल छिर्ने बित्तिकै पवित्र भावना जाग्ने देश बनाउनुपर्छ, यसो भए यहाँबाट विश्व शान्तिको सन्देश प्रवाहित गर्न सकिन्छ”, उनले भने।

गुटगत स्वार्थभन्दा माथि उठेर गरिबी र अभाव अन्त्य गर्ने आफ्नो धर्म रहेको सुनाउदै प्रधानमन्त्री ओलीले समय मिलाएर गोवद्र्धन मठको भ्रमण गर्ने प्रतिबद्धता पनि जनाए ।  

शंकराचार्य निश्चलानन्द सरस्वतीले काठमाडौँ नेपालको भौगोलिक राजधानी मात्र नभई धार्मिक राजधानी पनि भएको बताए । भगवान् पशुपतिनाथले यहाँको धार्मिक शासन गर्नुभएको उनको भनाइ थियो । “सनातन वैदिक आर्य हिन्दू धर्म स्थापित भए कुनै तन्त्रको आवश्यकता पर्दैन, सनातन धर्मले आर्थिक विषमताको अन्त्य गर्छ, वैदिक धर्म सबैका लागि पोषक बन्छ”, उनले भने।

कार्यक्रमलाई आयोजक समितिका संयोजक स्वामी पद्मधराचार्य, सहसंयोजक हरिबोल भट्टराई, सहसंयोजक किशोरी महतो, विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह, समिति सदस्यद्वय पुष्प पराजुली र भरतराज पौडेललगायतका वक्ताले वैदिक धर्म संरक्षणमा मठले पुर्‍याएको योगदानको चर्चा गरे।

शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेखेका छन् । उनको योगदानको कदर गर्दै बुधबार कीर्तिपुरमा पनि उनको अभिनन्दन गरिँदैछ । अभिनन्दनपछि जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नेछन् ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उनले प्रवचन गर्नेछन् ।  आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५ औँ शंकराचार्य हुन् ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवम् विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । आजको नागरिक अभिनन्दन कार्यक्रम समितिले नै आयोजना गरेको हो ।

समितिले सोमबार अपराह्न कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको थियो । त्यसलाई आज पनि निरन्तरता दिइने समिति सदस्य पुष्प पराजुलीले  जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ