arrow

एक दिने रामायण सर्किटः जनकपुर‌–अयोध्या बस सेवा बन्द 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
janakpur-aayodha-bus.jpg

काठमाडौं । बैशाख २८ गते एक दिनमात्र संचालनमा आएर रामायण सर्किटको नमूनाका रुपमा रहेको जनकपुरदेखि अयोध्यासम्मको बस सेवा बन्द भएको छ । 

निकै तामझामका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक नेपाल भ्रमणका क्रममा जनकपुरमा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा बस सेवाको हरियो झण्डा देखाएर उद्घाटन गरेका थिए । 

तर बिना तयारी जनतालाई मुर्ख बनाउन र मोदीको भ्रमणलाई रोचक पार्न मात्र गरिएको सर्किटको ‘सटर डाउन’ भएको हो । बैशाख २८ गते शुक्रबार धार्मिक पर्यटक लिएर अयोध्या गएको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे अनि भयो सर्किटको सटर डाउन । 

किन बन्द भयो त बस सेवा ? यो अहम् प्रश्न खडा भएको छ । धनुषाका सांसद रामआशिष यादवले प्राविधिक प्रक्रिया पूरा हुन बाँकी रहेकाले बस सेवा रोकिएको बताएका छन् । 

उनले प्रक्रिया पूरा गर्न केही महिना लाग्ने बताए । उनी भन्छन्, ‘यो त केवल सिम्बोलिक हो, नियमित रुपले बस चल्न केही समय त लागिहाल्छ धेरै तयारी गर्न नै बाँकी रहेको छ ।’

झण्डै साढे ५ सय किलोमिटरको दूरीमा रहेको जनकपुर–अयोध्या यात्राका लागि स्टेशनहरु कहाँ कहाँ रहने भन्ने पनि उल्लेख हुन सकेको छैन । बस सेवा संचालन गर्ने कम्पनीहरु पनि जुटिसकेका छैनन् । 

रामायण सर्किटको कुरा धेरै पहिलेदेखि नै भएको हो । यसका लागि तयारी पहिले नै गर्न सकिन्थ्यो । तर यसमा ढिलाई हुनुको पछाडि कुनै कारण छ कि ? 

यसबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक वरिष्ठ अधिकृतले भने कुनै अप्ठेरो वा आशंका नरहेको केवल प्राविधिक कुरालेमात्र अड्किएको बताए । 

यो रामायण सर्किटमार्फत बस सुरु हुने हो भने बर्सेनी लाखौं भारतीय हिन्दू धर्माबलम्बी धार्मिक पर्यटनका रुपमा नेपाल आउने विश्वास गरिएको छ ।

यो संख्या एक करोडको हाराहारीमा हुन सक्ने अपेक्षासमेत गरिएको छ । तर एक पटकमात्र चलेको बस फेरि नचलेपछि अपेक्षा मात्र गर्ने कि व्यवहारमा उतार्नका लागि सरकारले पहल पनि गर्ने भन्ने विषय अहम् बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ