- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक दुई दिन भित्रै पार्टी एकता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको दुई अध्यक्षबीचको छलफलपछि पार्टी भित्र आन्तरिक तयारी गरि पार्टी एकता टुङ्गोमा पुर्याउन सहमत भएको एमालेका नेता सुवासचन्द्र नेम्वाङले बताए ।
उनले भने ' पार्टी एकतालाई तुरुन्तै टुङ्गाउनु पर्ने विषयमा सहमति भएपनि पार्टी एकताको घोषणा कार्यक्रम पार्टी भित्रको आन्तरिक छलफलपछि मात्र सार्वजनिक हुने बताए ।'
बुधवारको ओली- प्रचण्ड भेटपछि विवादित विषयहरुमा टुङ्गोमा पुगिएको अपेक्षा गरिएको छ । दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा छलफल गरि टुङ्गाउन खोजेपनि कतिपय विषयहरु मिल्न सकेका थिएनन् । एमालेले एकताको तयारीमा लागि बुधवार ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।
मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिनाअघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।
दुई दलबीच एकीकृत पार्टीको संरचनामा प्रतिनिधित्व कार्यकारी अधिकार बाँडफाँटका विषयमा सहमति जुट्न सकेको थिएन । एकीकृत पार्टीमा दुई अध्यक्ष हुनेमा दुवै दलबीच लिखित सहमति भए पनि उनीहरुको अधिकार क्षेत्रबारे सहमति जुट्न नसकेको हो ।
एकीकृत पार्टीमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच सहमति नहुँदा एकता प्रक्रिया जटिल बनेको थियो ।