रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर महिलाको मृत्यु
प्रकाशित २०७५ जेठ ३ बिहिबार
1k
Shares
उर्लाबारी, मोरङ। मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।
करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन्। घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।
सञ्चार क्लबलाई जग्गा सहयोग
यसैबीच, पूर्वी मोरङका पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाललाई रु २५ लाख बराबरको पाँच कट्ठा जग्गा सहयोग प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, बृद्धिसिंह तामाङ र ज्ञानु बास्कोटाले संयुक्तरुपमा क्लबको भवन निर्माणका लागि जग्गा सहयोग गरेका हुन्।
उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पौडेलको रोहवरमा बुधबार क्लबका अध्यक्ष सरोज बस्नेतलाई उनीहरुले जग्गा प्रदानको सहमतिपत्र हस्तान्तरण गरे।
उर्लाबारी नगरपालिकाको बसपार्क निर्माणस्थल नजिकै रहेको उक्त जग्गामा निकट भविष्यमै सुविधासम्पन्न भवन निर्र्माण गर्ने लक्ष्य रहेको अध्यक्ष बस्नेतले जानकारी दिए। क्लबमा पूर्वी मोरङका ४० भन्दा बढी पत्रकार आबद्ध रहेका छन्। रासस