arrow

पार्टी एकता नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना: प्रचण्ड

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
prachanda-.JPG

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिवार बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताए ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताले मार्ग प्रशस्त गरेको उल्लेख गरे।  दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको छ भने।

आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले भने, “जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ।” इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको उनको भनाइ थियो ।

विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले स्पष्ट पारे।

केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे।  विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उनले नयाँ सरकार बनेको अनुभूति दिइने स्पष्ट पारे।

सरकारको सबै तहलाई सन्तुलनमा राखेर जनताको अपेक्षा पूरा गर्ने तथा गराउने तर्फ आफूहरु प्रतिबद्ध भएर लाग्ने समेत उनको भनाइ थियो । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो ।

बैठकले संसदीय दलको प्रमुख नेता सर्वसम्मत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ