arrow

एमाले- माओवादी एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक : डा भटृराई

नवीनतम सोचका साथ अघिबढ्नु आवश्यक

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
Baburam-bhattrai-stage.jpg.jpeg

पोखरा । नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय समृद्धि र विकासका लागि नवीनतम सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।  

संसदीय पत्रकार मञ्च, पोखराद्वारा शनिवार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन गर्न आवश्यक भएको बताउँदै परम्परागत शैलीबाट विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे।

देशको अर्थतन्त्र केवल आठ नौजनाले मात्र सञ्चालन गरेको बताउँदै भट्टराईले भने, “मुठ्ठीभरका व्यक्तिमा देशको अर्थतन्त्र रहँदासम्म देशको विकास र समृद्धिले फड्को मार्न सक्दैन, सबै खालका सिण्डीकेट, कमिशनखोर र भ्रष्टाचार हटाएर अगाडि बढ्नु आवश्यक छ ।”

पुराना राजनीतिक दलले सत्तालिप्सा, राज्यसत्ताको दोहनका लागि चुनावदेखि चुनावसम्मको राजनीति गर्ने गरेको चर्चा गर्दै उनले त्यस्तो राजनीतिले आमजनताको हित नगर्नेमा जोड दिए  ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण राजनीतिक स्थायित्वको लागि सकारात्मक भएको र अन्य प्रजातान्त्रिक शक्ति पनि एक हुनुपर्ने बताउँदै उनले दलहरू जनताको चाहनाअनुसार रुपान्तरित बन्नु आवश्यक भएको बताए ।

देशमा बढ्दै गएको भ्रष्टाचार, महँगी नियन्त्रण एवं विभेद अन्त्य गर्दै विकास र समृद्धितर्फ पुराना दलहरु अगाडि नबढेसम्म नेपाली जनताको आवश्यकता पूरा नहुने उनले बताए । “नयाँशक्ति पार्टी सत्ता लिप्साभन्दा पनि समाजलाई रुपान्तरित गर्दै दीर्घकालीन रुपमा देशको समृद्धि अघि बढाउन चाहन्छ,”–उनले भने ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबाट नेपालका प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत सम्बन्ध सुधार गरेपनि देशको हितमा भने भ्रमण फलदायी नभएको उनको भनाइ छ ।

पोखराको फेवाताल संरक्षणका लागि आफू प्रधानमन्त्री भएकै समयमा समिति बनाएर काम शुरु गरेको र सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा फैसला गरेको बताउँदै उनले फेवाताल संरक्षणमा सबैको चासो बढ्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ