arrow

यसकारण देउवाले दिनुपर्छ निधीलाई कार्यवाहक

logo
बिन्दुकान्त घिमिरे,
प्रकाशित २०७५ जेठ ६ आइतबार
bimalendra_nidhi_647_082016021940.jpeg

पूनर्गठित नेकपासँग चुनावी प्रतिस्पर्धामा खरो उत्रन सक्ने अवस्थामा  पुर्याउन नेपाली कांग्रेससँग दुई वटा विकल्प छन् । एउटा विकल्प हो, ‘पार्टीलाई पूर्णरूपमा एक ढिक्का बनाउनु ।’ अर्को, ‘बाँकी पार्टीहरूलाई आफ्नो नेतृत्वमा एकीकृत बनाउँदै लैजानु ।’ तर, सभापति पदमा जबसम्म देउवा एकल नेतृत्वका साथ सक्रिय रहन्छन्, तबसम्म कांग्रेस एक ढिक्का हुने संभावना देखिँदैन । देउवाको एकल नेतृत्वलाई कार्यकर्ताहरूले रुचाएको देखिन्न । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले करारी हार बेहोर्नासाथ सभापति देउवामाथि राजीनामाको दबाब चर्किएको थियो । जब एमाले र माओवादीबीचको एकीकरण प्रक्रियामा ढिलाइ हुँदै गयो तब देउवामाथिको त्यो दबाब पनि क्रमशः मत्थर हुँदै गयो ।

एमाले–माओवादी एकीकरण नभएको अवस्थामा सत्ता समीकरणको खेल खेलेर कांग्रेसलाई यही पाँच वर्षको अवधिमा सत्तामा पुर्याउन देउवाले सक्लान् भन्ने आशा अधिकांश सांसद तथा केन्द्रीय सदस्यहरूमा देखियो । संसदीय दल र केन्द्रीय समितिमा सभापति देउवा झन् बलिया देखिए । पार्टीको संगठन निर्माणमा कमजोर भए पनि सत्ता समीकरणको खेल नै देउवाको मुख्य क्षमता हो भन्ने कांग्रेसको पंक्तिलाई थाहा छ । पार्टीले चुनाव हारे पनि यही सामाथ्र्यका कारण देउवा संसदीय दल र केन्द्रीय समितिमा झन् झन् बलियो हुँदै गएका हुन् । तर, सत्ता समीकरणको खेल खेल्ने मैदानमै ताला लागेसँगै संसदीय दल र केन्द्रीय समितिमा देउवा कमजोर हुने निश्चित छ । अब पार्टीलाई एक ढिक्का बनाउन मार्ग प्रशस्त गर्नुबाहेक देउवासँग अर्को विकल्प छैन ।

७५ वर्षीय देउवालाई अब पाँच वर्ष पर्खन उमेरले पनि साथ दिने अवस्था छैन । उपसभापति निधिलाई कार्यबहाक सभापति बनाएर वरिष्ठ नेता रामचन्द्र पौडेलका साथ देउवाले देशव्यापी अभियान चलाए भने पार्टी एक ढिक्का हुने सुझाव दिनेहरू कांग्रेसभित्र धेरै छन् । एक केन्द्रीय सदस्य भन्छन, ‘मधेस केन्द्रित दलको अस्तित्व रहेसम्म कांग्रेसलाई जनमत बढाउन सजिलो छैन । सिद्धान्त र विचार नमिल्ने भएकोले मधेसवादी दलसँग कांग्रेसको एकीकरण पनि संभव छैन । मधेसी दललाई कमजोर बनाउनका लागि कांग्रेससँगको मुख्य अस्त्र भनेकै उपसभापति निधीलाई कार्यवाहक सभापति बनाउनु हो ।’

कांग्रेसले यो अस्त्र प्रयोग गर्ने संभावना देखेरै गत चुनावमा वाम गठबन्धनले निधीविरुद्ध मधेसी दलका नेता राजेन्द्र महतोलाई भोट खन्याएको थियो । 

सभापति देउवाले पनि यथास्थितिमा पार्टीलाई एकढिक्का बनाएर लैजाने सक्ने अवस्था छैन । सुरक्षित अवतरणको बाटो उनले पनि खोज्नै पर्छ । जसरी २०३३ सालमा किशुनजीलाई कार्यबाहक सभापति बनाएर बीपी कोइरालाले पार्टीको संकटलाई सुरक्षित अवतरण गराएका थिए, २०६४ सालमा सुशील कोइरालालाई कार्यवाहक सभापति बनाएर गिरिजाप्रसाद कोइरालाले पार्टीको संगठनलाई सुरक्षित अवतरण गराएका थिए, त्यसरी नै देउवाले अबको कदम सरप्राइज दिने ढंगले चल्नुपर्छ । विमलेन्द्र निधिलाई कार्यवाहक सभापति बनाएर सभापति देउवा र पौडेल एक साथ पार्टी एकढिक्का भएको सन्देश लिएर गाउँगाउँ पुग्ने हो भने नेपाली कांग्रेसले त्राण पाउँछ । यो विकल्प खोज्न आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ