के सोच्दैछन् ओली जो आपद्मा पर्दा सघाउनेहरुलाई समेत बिर्सदै गए ?
प्रकाशित २०७५ जेठ ६ आइतबार
924
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जेट प्लेनमा चढेर पार्टीको नेतृत्व सम्हाल्न थालेपछि केपी शर्मा ओलीले आफन्तलाई भुल्दै गएका छन् । उनी आपद्मा पर्दा सघाउने उनका सहयात्री कामरेडसमेत बिर्सिइदै जाँदा उनीहरु नै रनभुल्लमा परेका छन् ।
त्यतिमात्र होइन ओलीले बिर्सिएका नेता तथा कार्यकर्तालाई अहिले नयाँ खेमाले गलत आरोप लगाएर समेत पनि उनका नजिककालाई टाढा गराउने प्रयास भइरहेका छन् । ओली आपद्मा पर्दा ओलीको लिडरसिप बोकेर हिँड्ने समेत पछाडि परेका छन् ।
ओलीलाई बोकेर हिंड्दा एमालेभित्रैबाट अप्ठेरोका पारिएकाहरु अहिले बहुमतको सरकार हुँदा कहिं कतै स्थापित गर्नुपर्नेलाई सम्झनुको सट्टा विस्थापित गर्र्दै गएपछि ओलीको अवसरवादी चरित्र हावी भएको त हैन भन्ने प्रश्न उब्जिएको छ ।
ओलीको काँध थापेकाहरु बाइपास हुँदा यो संगठन अझ बढी धरापमा पर्ने खतरा देखिएको छ । एक कम्युनिष्ट राजनीतिका विष्लेषकले नाम नखोल्ने सर्तमा भने, ‘ओलीको उन्माद या मुख्र्याइँले पार्टी कमजोरमात्र बन्दै छैन ओली स्वयं नै खाल्डोमा पर्न सक्ने देखिन्छ, उनलाई अहिले उचाल्नेहरु अवसरवादी हुन्, ओली खाल्डोमा पर्दा फेरि उद्दार गर्न आउनेहरु तिनै पीडित हुनेछन् लेखेर राख्नुहोला ।’
ओलीको लिडरसिप बोक्दै हिंड्ने वरिष्ठ पत्रकार शम्भु श्रेष्ठसमेत अहिले ओली क्याम्पबाट टाढिँदै गएका छन् । त्यसैगरी गुरु बराल, युवराज बाँस्कोटा, दयालबहादुर शाही, राजेन्द्र अर्याल, खगराज अधिकारी, गोपाल गुरागाईँ, देवी ज्ञवाली, घनेन्द्र बस्नेत, नरेश खरेल, राजेन्द्र रावल, देवेन्द्र दाहाल, घनश्याम कोइराला लगायत दर्जनौं नेता तथा कार्यकर्तालाई ओलीले बिर्सेका छन् ।
अझै केही बिग्रेको छैन –
जसले काँध थाप्छन् तिनीहरु एक पटक काँध थापेपछि सधैभरिलाई ऋणि हुन्छन् । ओलीले अझै पनि समय घर्केको छैन कुनै न कुनै स्थान दिँदा फरक पर्दैन । तर कुनै उन्मादमा रहेर मात लागेको हो भने त्यो ओलीका लागि सबैभन्दा ठूलो मुख्र्याइँ हुनेछ ।
ओलीको अहिले नजिकै रहेर काम गरिरहेकाहरुले ओलीलाई भेट्न खोज्दा समय पाइरहेका छैनन् । सम्भवतः ओलीले पार्टीलाई मिलाउन खोज्दा आफ्नालाई पहिलो प्राथमिकता दिँदा गुटबन्दी गरेजस्तो हुने भएरै आफूलाई नसमेटेको होला भनी सान्त्वना दिइरहेका छन् ।
भारतसंग अब सम्बन्ध बढाउनु पर्दैन ?
ओलीको भारतसंग निकट सम्बन्ध बनाउन मद्दत गर्ने नेतामा पर्छन् युवराज बाँस्कोटा । स्रोतका अनुसार उनी पनि ओली क्याम्पबाट टाढा छन् । ओलीलाई भारतले वैरीजस्तो देख्दा सम्बन्ध बढाउन बाँस्कोटाले निकै नै महत्वपूर्ण भूमिका खेलेका थिए । एक पीडित नेताले भने, ‘अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुखबाट ओलीलाई ‘मेरे भाइ’ भनेर विश्वासिलो बनाउने काम युवराज कामरेडले गर्नुभएको हो, उहाँलाई त ओली कामरेडले गनेनन् भने हामीलाई के हेर्लान् ।’
के अब ओलीलाई भारत सम्बन्ध बनाउनु पर्दैन ? परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीभन्दा बढी विश्वासिला लाग्दथे बाँस्कोटा कुनै बेला। आज उनी नै टाढिएपछि ओलीको स्वार्थीपन झल्कियो वा अब मोदीसंग सीधा कुरा हुने भएपछि अरु किन चाहियो भन्ने मानसिकता उनमा पलाएको हो ?
जेटमा चढे पनि त्यसमा हुने सहायक पाइलटहरुदेखि लिएर एयर होस्टेजको भूमिका अहम् हुन्छ भन्ने कुराको ख्याल ओलीलाई भएन कि !
प्रचण्डको हालत पनि त्यस्तै
नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत पनि त्यस्तै छ । प्रचण्डले आफू नजिककालाई बिर्सदै गएका छन् । हुनत तिनीहरु पदमै छन् तर तिनीहरुका कुरा सुनिन छाडेका छन् ।
सभामुख कृष्णबहादुर महरा र वर्षमान पुन अनन्तका कुरा सुनिन छाडेको गुनासो व्याप्त भइरहेको छ । तिनै महरा र अनन्तले प्रचण्डको काँध थापेका थिए । अहिले उनीहरु र नजिकका नेताहरु बिर्सिइदै गएको गुनासो व्याप्त छ ।