arrow

समाजवादी कांग्रेसले भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने

logo
प्रकाशित २०७५ जेठ ७ सोमबार
Nepali_Congress_samajbadi.png

काठमाडौँ । नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । समाजवादी कांग्रेसले सोमवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा व्यापक भ्रष्टाचार बढेकाले आन्दोलन जरुरी भएको घोषणा गर्‍यो ।

पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दू राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको बताए । सरकार पछिल्लो समय दमनकारी बाटोमा लागेकाले जनताले अधिकार पाउन नसक्ने उनले दाबी गरे ।

पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा पार्टी कार्यालयमा सरकारले धरपकड गरेकामा उनको आपत्ति थियो । “सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन, अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं”, महासचिव निरौलाले भने।

पार्टीले वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यसलगत्तै प्रहरीले पार्टी कार्यालयबाट केन्द्रीय सदस्य पार्वती थापासहित कार्यकर्तालाई गिरफ्तार गरी छ दिनपछि रिहा गरेको थियो ।

सो दिन प्रहरीले समाजवादी कांग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यालय पनि आजै पत्रकार सम्मेलन गरेर खोलिएको छ । छिट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नेसमेत सो अवसरमा जानकारी गराइयो ।  रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ