arrow

दुर्लभ स्तनधारी जनावर सालकको गणना सकियो

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
salak.jpg

चितवन । अति संकटापन्न जनावर सालकको गणना सम्पन्न भएको छ । दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो ।    राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो । चितवनका पाँच, गोरखाका चार र मकवानपुरका सातवटा सामुदायिक वनमा सालकको गणना गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत सन्तोष भट्टरार्ईले लजालु स्वभाव रहेको जनावर सालकको अवस्था पत्ता लगाई संरक्षण क्षेत्र बनाउने उद्देश्यले सालकको गणना गरिएको बताए । चितवनको कंकाली सामुदायिक वनबाट शुरु गरिएको गणना सकिएको भए पनि तथ्यांक संकलन गरी असार १५ सम्ममा सार्वजानिक गर्ने तयारी भइरहेको उनले बताए ।

विश्वमा आठवटा प्रजातिका सालक रहेका छन् । नेपालमा कालो र तामे सालक मात्रै पाइएको तथ्यांक छ । सालक संरक्षण अभियानमा सबै सरोकारवालाको सहयोग आवश्यक रहने बताउँदै उनले गणनापश्चात् सालकको संरक्षणमा थप सहयोग पुग्ने बताए ।

जिल्ला वन कार्यालयका प्रमुख केदार पौडेलले समुन्द्री सतहदेखि ६०० मिटरदेखि एक हजार ५०० मिटर उचाइसम्म सालक पाइने बताए । यसको संरक्षण आवश्यक रहेको र संकलन गर्नु अपरिहार्य रहेको उनले बताए । हरेक वन क्षेत्रमा क्यामेरा जडान गरी एक हप्ताको समय लगाएर सालक गणना गरिएको हो । क्यामेरा ट्रापिङ विधिबाट अध्ययन भएको र हरेक वनमा प्राविधिकसहित १० जनाको टोली खटिएको थियो ।

स्तनधारी जनावर सालकको मासु र खपटा अन्तर्राष्ट्रिय क्षेत्रमा महँगोमा बिक्री हुने गरेकाले अवैध व्यापार हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले नेपालमा पाइने सालकसहित २७ प्रजातिका स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखेको छ । यो ऐनको दफा, २६ को उपदफा, २ मा सालक मारेमा वा यसको अंगको व्यापार गरेमा रु ४० हजारदेखि रु ७५ हजार जरिवाना तथा एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ