arrow

रुस विश्वकप फुटबलमा अवसर खोज्दै यू–२० का स्टारहरु 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
russia-2018.png

काठमाडौं । रुस विश्वकप २०१८ सुरु हुने संघारमा छ । कुनै पनि खेलाडीको लागि विश्वकप फुटबल आफ्नो करियर बनाउने महत्वपूर्ण समय हो । यो समयमा गरिएको राम्रो प्रदर्शनले उनीहरुको भविष्य निर्धारण पनि हुन सक्छ ।

 यसैबीच कुन खेलाडीको प्रदर्शन कस्तो रहने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ । यसपटकको विश्वकपमा पहिलोपटक सहभागिता जनाएका र यसअघि फिफा यू–२० विश्वकपमा राम्रो प्रदर्शन गरिसकेका केही खेलाडीहरुमा अहिले धेरैको आँखा परेको छ । 

जसमध्ये केही महत्वपूर्ण खेलाडीहरु यस्ता छन् –

१ ग्याब्रिएल जेसस, ब्राजिल 
ब्राजिलको टोलीको कुरा गर्दा धेरैको मनमा आउने नाम नेयमार हो तर यसपटकको विश्वकपमा नेयमारको अर्को राम्रो सहयोगीको रुपमा जेससको नाम आउनसक्छ । सन् २०१५ मा भएको यू–२० विश्वकप प्रतियोगितामा उनले नाइजेरियाविरुद्ध सुरुको खेलमै गोल गरेका थिए भने प्रतियोगितामा तीनओटा गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।
 
२१ वर्षीय यी युवा खेलाडीले अहिले म्यानचेस्टर युनाइटेडबाट आफ्नो व्यावसायिक फुटबल अगाडि बढाइरहेका छन् ।  उनले विश्वकप छनोटका १० खेलमा छ गोल गरेका थिए । जसको कारण उनले यो विश्वकपमा पनि राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा गरिएको छ । 

२ आन्द्रे सिल्भा, पोर्चुगल
सन् २०१५ मा न्युजिल्याण्डमा भएको यू–२० विश्जकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका आन्द्रे सिल्भा पनि यस पटकको विश्वकपमा धेरैको आँखामा परेका खेलाडी हुन् । यू–२० विश्वकपमा भएको पाँच खेलमा उनले चार गोल गरेका थिए । 

साथै दुई गोलमा सहयोगीको भूमिका निर्वाह गरेका थिए । जसको प्रदर्शनको सहयोगमा पोर्चुगल विश्वकपमा अन्तिम आठमा पुगेको थियो । एसी मिलानबाट आफ्नो व्यावसायिक फुटबल खेलिरहेका यी २२ वर्षीय खेलाडीले यसपटकको विश्वकपमा क्रिस्टियानो रोनाल्डोको सहयोगीको भूमिका निर्वाह गर्नेछन् । उनले पोर्चुगलबाट खेलेको २० खेलमा ११ गोल गरिसकेका छन् । 

३ रोड्रिगो बेन्टान्कुर, उरुग्वे
सन् २०१७ मा भएको यू–२० विश्वकप प्रतियोगितामा प्रभावशाली खेलाडीको रुपमा उरुग्वेका रोड्रिगो बेन्टान्कुरले नाम लेखाएका थिए । २० वर्षीय यी खेलाडीले उक्त विश्वकपमा छ खेलमा सहभागिता जनाएका थिए भने सेमिफाइनलमा पेनाल्टीको सहयोगमा गोल पनि गरेका थिए । 

अहिले यूभेन्टसका लागि आफ्नो व्यावसायिक फुटबल खेलिरहेका यी खेलाडीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ । उनले सन् २०१७ को अक्टोबर महिनामा सिनियर टोलीमा डेब्यु गरेका थिए । 

४ एड्सन अल्भारेज, मेक्सिको

अघिल्लो वर्षको युवा विश्वकपका अर्का महत्वपूर्ण खेलाडी हुन् – एड्सन अल्भारेज । उक्त विश्वकपको सुरुको खेलमा भानुआटुविरुद्ध गोल गरेका यी खेलाडीले जर्मनी तथा सेनेगलको विरुद्ध राम्रो खेल प्रस्तुत गरेका थिए । उनको टोली उक्त विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो । अहिले क्लब अमेरिकाबाट व्यावसायिक फुटबल खेलिरहेका २० वर्षीय खेलाडीको लागि यो विश्वकप निकै महत्वपूर्ण हुनसक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ